२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

१४ औँ महाधिवेशनबाट निर्वाचित सभापति नै वैधानिक हो : प्रकाशशरण महत

नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टीभित्रको विवादलाई विभाजनको दिशातर्फ लैजान नहुने बताएका छन्। उनले कांग्रेसको मूल मर्म, भावना र देशभरका नेता–कार्यकर्ताको प्रतिनिधित्वलाई आत्मसात् गर्दै पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताए। 

नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महतले पार्टीको झण्डा र चुनाव चिह्न मात्रै कांग्रेसको पहिचान नभएको बताए। कांग्रेस राष्ट्रवादी, लोकतान्त्रिक तथा प्रजातान्त्रिक समाजवादी शक्ति भएकाले त्यसको विचार र आत्मालाई जोगाउनुपर्ने उनको भनाइ थियो। 

उनले सर्वोच्च अदालतको डिभिजन बेन्चको निर्णयको पूर्णपाठ आइसकेपछि सभापति शेरबहादुर देउवाले पुनरावलोकनका लागि दिएको निवेदनलाई पनि गम्भीरतापूर्वक हेर्नुपर्ने र सर्वोच्च अदालतको निर्णयमा आधार, प्रमाण तथा सम्बन्धित पक्षको दृष्टिकोणलाई बेवास्ता गरिएको भए सामान्य अवस्थामा पुनरावलोकन नहुने भए असामान्य त्रुटि भएको अवस्थामा पुनरावलोकन हुन सक्ने व्यवस्था रहेको बताए।  

महतले १४ औँ महाधिवेशनबाट निर्वाचित पार्टी सभापति शेरबहादुर देउवा वैधानिक र वैध रूपमा पार्टीको नेतृत्वमा रहेको भन्दै उनलाई विस्थापित गरेर अघि बढ्ने प्रयासले कांग्रेसलाई थप कमजोर बनाउने र पार्टीको आत्मा सँगै विचारलाई कमजोर पार्ने कदम उचित नहुने बताए। 

‘कांग्रेसलाई कमजोर नगरी कांग्रेसको आत्मालाई जोगाउनुपर्छ’ भन्ने धारणा राख्दै उनले पार्टीभित्र देखिएको विवाद समाधानका लागि सबै पक्षबीच संवाद र सहमति आवश्यक रहेको बताए।  

नेतृत्वले पार्टीका सबै सदस्य, नेता तथा कार्यकर्ताको कुरा सुन्नुपर्नेमा जोड दिए। सबैलाई समेटेर अघि बढ्ने पार्टी सभापतिको इच्छालाई सम्मान गर्दै त्यसका लागि वातावरण बनाउनुपर्ने उनको भनाइ थियो। 

देश अहिले राष्ट्रिय संकटको अवस्थामा रहेको कारण यस्तो समयमा राष्ट्रिय एकता, मेलमिलाप र राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताए। बीपी कोइरालाले राष्ट्रिय संकटका बेला राष्ट्रिय एकता र मेलमिलापको आवश्यकता औँल्याएको स्मरण गर्दै उनले कांग्रेसले पनि अहिले त्यही भावनाअनुसार अघि बढ्नुपर्ने उनको भनाइ छ।  

प्रकाशित: २९ श्रावण २०८३ १८:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App