१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जनताले उठाइदिए ध्वस्त जगाती प्रहरी वृत्त

गत भदौमा जेन-जी आन्दोलनका क्रममा आगजनीबाट पूर्ण रूपमा ध्वस्त भएको भक्तपुरको जगातीस्थित प्रहरी वृत्तको भवन स्थानीय जनताको सक्रियता र सहयोगमा पुनर्निर्माण सम्पन्न भएको छ।

करिब ४० दिनको छोटो अवधिमा पुनर्निर्मित उक्त भवन एक कार्यक्रमका बीच प्रहरीलाई हस्तान्तरण गरिएको छ। साथै, वृत्तले सोही स्थानबाट आफ्नो नियमित कामकारबाही पनि सुरु गरिसकेको छ।

आगजनीले वृत्तको भवन ध्वस्त भएपछि स्थानीयवासीले यसको पुनर्निर्माणका लागि ‘जगाती प्रहरी वृत्त पुनर्निर्माण समिति’ गठन गरेर सहयोग संकलन अभियान चलाएका थिए।

स्थानीय कृष्णराम जाकिबञ्जारको अध्यक्षतामा गठित समितिमा केशब कवां (उपाध्यक्ष), गोविन्द कार्की (सचिव), राकेश थापा (कोषाध्यक्ष) तथा जीवन कवां, अमृत घिसिङ र रविकृष्ण श्रेष्ठ सदस्य रहेका थिए।

समितिले नगद, सिमेन्ट, फर्निचर जस्ता निर्माण सामग्री र अन्य भौतिक तथा नैतिक सहयोग संकलन गरेको थियो।

समितिका अध्यक्ष जाकिबञ्जारका अनुसार, पुनर्निर्माणका लागि ९२ वर्षीय वृद्धदेखि २ वर्षीय बालकसम्मबाट सहयोग प्राप्त भएको थियो। विशेषगरी, भक्तपुर नगरपालिका-७, गोल्मढीका ९२ वर्षीय नारायणभक्त कवाँले आफ्नो वृद्धभत्ताबाट जम्मा भएको ५० हजार रुपैयाँ सहयोग गरेको घटना अविस्मरणीय रहेको उनले बताए।

पुनर्निर्माण सम्पन्न भएपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी वृत्तका प्रमुख, सूर्यविनायक नगरपालिकाका विभिन्न वडाका अध्यक्षहरूलगायतको उपस्थितिमा भवन प्रहरीलाई हस्तान्तरण गरिएको हो।

आगजनीपछि प्रहरीले अस्थायी रूपमा सिपाडोलस्थित गणेश माविबाट सेवा प्रदान गर्दै आएको थियो।

प्रकाशित: ८ कार्तिक २०८२ १६:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App