२० मंसिर २०८२ शनिबार
image/svg+xml
राजनीति

निर्वाचन आयोगका छलफलमा नजाने दल एमालेमात्र !

आसन्न प्रतिनिधि सभा निर्वाचनको तयारीमा निर्वाचन आयोग जुटेको छ । सरकारले पनि जसरी पनि निर्वाचन गराउने भन्ने योजनासहित आयोगलाई आश्वास्त पार्ने काम गरिरहेको छ ।  

निर्वाचन आयोगले फागुन २१ को निर्वाचन सफल बनाउन विभिन्न क्षेत्र पेशाका व्यक्ति, नागरिक समाज तथा राजनीतिक दलसँग समूहगत, प्यानलगत छलफल गरिरहेको छ ।  

आयोगका अनुसार आइतबारसम्म नेपालमा १ सय २२ वटा राजनीतिक दल क्रियाशील छन् । अन्तरिम सरकारले निर्वाचन घोषणा गर्दा कायम रहेको दल संख्या र हालको संख्या बराबर देखिए पनि यस अवधिमा नयाँ दल दर्ता हुने र पुराना खारेज हुने क्रम भने निरन्तर छ ।  

अन्तिरम सरकारले निर्वाचन घोषणा गर्दा नेपालमा १२२ राजनीतिक दल थिए । अहिले पनि दलको संख्या १२२ नै छ । यो बीचमा सात राजनीतिक दल खारेज भएका छन् भने सातै राजनीतिक दल दर्ता भएका छन् । अहिले पनि दल दर्ताको क्रम जारी छ ।  

आयोगमा २८ दल दर्ताको प्रक्रियामा छन् ।  

यहीबीचमा आयोगले निर्वाचन केन्द्रित बहसलाई तीव्र पारेको छ । आयोगका यस्ता गतिविधि तथा छलफलमा सबै दल सहभागी भए पनि नेकपा एमाले भने सहभागी भएको छैन ।  

आयोग स्रोतले भन्यो, ‘अहिलेसम्म सरकारले सुरक्षाको प्रत्याभूति गराएसँगै आयोगले निर्वाचनको पूर्ण तयारी गरिरहेको छ । आयोगले विभिन्न क्षेत्रमा क्षेत्रगत छलफल पनि जारी राखेको छ । यस्ता दलगत छलफलमा हामीले आयोगमा दर्ता भएका सबै दललाई निम्ता गर्ने गरेका छौँ । यसमध्ये नेकपा एमाले अहिलेसम्म छलफलमा सहभागी भएको छैन । यसरी हेर्दा एमालेले चाहिँ निर्वाचन बहिष्कार गरेको हो कि भन्ने बुझाइ छ ।’

नेकपा एमालेका नेताहरूले पनि यही अवस्थामा निर्वाचन हुन नसक्ने दावी गर्दै आएका छन् । देशभर मोटरसाइकल र्‍यालीसहित शनिबार ७७ वटै जिल्लामा प्रदर्शन गरेको एमालेले प्रतिनिधि सभा पुनर्स्थापनालाई मुख्य एजेण्डा बनाएको छ ।  

आज एमालेकै एक भ्रातृ संगठनसँगको छलफलमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना नभएसम्म एमालेको दवावमूलक प्रदर्शन नरोकिने चेतावनी दिएका छन् । 

प्रकाशित: ३० कार्तिक २०८२ १७:४७ आइतबार