नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ(नेविसंघ)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतका व्यक्तिमाथि छानबिन गरी कारबाहीको माग गरेको छ। बिहीबार नेविसंघका अध्यक्ष दुजाङ शेर्पासहितको प्रतिनिधि मण्डलले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक(आइजिपी) चन्द्र कुवेर खापुङलाई भेटेर मागपत्र बुझाएको छ।
माग पत्रमा जेन–जी पुस्ताले गरेको भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनमा शहादत प्राप्त गर्ने विद्यार्थीप्रति उच्च सम्मान गर्दै आन्दोलनको भावनाको संरक्षण गर्नुपर्ने कुरा उल्लेख छ।
यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य डा. आरजु राणा देउवामाथि भएको सांघातिक आक्रमणमा संलग्न व्यक्तिलाई तत्काल अनुसन्धानको दायरामा ल्याएर कारबाही गर्न माग गरिएको छ।
माग पत्रमा नेविसंघले जेन–जी आन्दोलनका क्रममा भएका अमानवीय घटना र सार्वजनिक सम्पत्तिमाथिको क्षतिबारे अनुसन्धानको माग गर्दै नेविसंघले ती घटनामा संलग्न पत्ता लगाएर कारबाहीको माग गरेको छ। माग पत्रमा काठमाडौं महानगरका मेयर बालेन र रास्वपा सभापति रविसहितका नेताहरूको नामै किटेर उल्लेख गरिएको छ।
‘जेन–जी आन्दोलनको आवरणमा सुनियोजित रूपमा देशका विभिन्न जिल्लामा रहेका जेल, कारागार र बन्दी गृहहरूमा आगजनी गर्ने, कैदी–बन्दी भगाउने तथा सरकारी कागजात क्रीते गर्ने जस्ता जघन्य अपराधमा संलग्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेताहरू डिपी अर्याल, मनिष झा, हरि ढकाल, ज्वाला संग्रौलालगायतका व्यक्तिहरू उपर तत्काल अनुसन्धान गरी कानुनी दायरामा ल्याउन माग गर्दछौँ,’ माग पत्रमा भनिएको छ।
यस्तै अर्को बुँदामा ‘भाद्र २४ गतेका आपराधिक तथा हिंसात्मक घटनाहरूलाई भड्काउने गरी टिप्पणी गर्ने, भिडलाई उत्तेजित बनाउने काठमाडौं महानगरपालिका नगर प्रमुख बालेन्द्र साहलगायत सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट मिथ्या सूचना, भ्रामक प्रचार तथा अफवाह फैलाउने कार्यमा संलग्न व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याई कानुनी कारबाही गर्न माग गर्दछौँ’ भनिएको छ।
यसअघि नेकपा एमाले निकट अनेरास्ववियुले पनि काठमाडौं महानगरका मेयर बालेन विरुद्ध देशव्यापी जाहेरी दिँदै आएको छ।
यस्तो छ, पूरा माग पत्रको ब्यहोरा



प्रकाशित: ३० आश्विन २०८२ १९:०६ बिहीबार





