१६ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

सरकार जिम्मेवार र संवेदनशील बनोस्: कांग्रेस

नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि विकसित परिस्थितिप्रति गम्भीर चासो व्यक्त गर्दै सरकारको गैरजिम्मेवारीपूर्ण र असंवेदनशील भूमिकाको आलोचना गरेको छ। साथै नागरिकमाथि अत्यधिक बल प्रयोग भएको भन्दै घटनाको निष्पक्ष छानबिनका लागि तत्काल उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न माग गरेको छ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न स्वतन्त्र, निष्पक्ष र विश्वासयोग्य न्यायिक छानबिन आवश्यक रहेको निष्कर्ष निकालेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले सरकारलाई घटनाको सम्पूर्ण जिम्मेवारीका साथ जवाफदेही बन्न आग्रह गरिएको जानकारी दिए।

बैठकपछि जारी विज्ञप्तिमा कांग्रेसले प्रश्न उठाएको छ, "नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो र यस्तो परिस्थिति किन सिर्जना भयो?" पार्टीले यस्ता प्रश्नको निष्पक्ष उत्तर खोज्न न्यायिक छानबिन नै एकमात्र विश्वसनीय माध्यम हुने स्पष्ट गरेको छ।

कांग्रेसले घटनामा घाइते भएकाहरूको निःशुल्क उपचार, उनीहरूको समुचित व्यवस्थापन, तोडफोड तथा आगजनीबाट क्षति पुगेका निजी तथा सार्वजनिक सम्पत्तिको यथोचित क्षतिपूर्ति सुनिश्चित गर्न सरकारलाई निरन्तर दबाब दिने निर्णय पनि गरेको छ।

विज्ञप्तिमा वर्तमान अवस्थालाई अत्यन्त संवेदनशील र सङ्कटपूर्ण भन्दै नागरिकको सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई सर्वोच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ।

पार्टीले आफ्नो नेतृत्वमा रहेका मधेश प्रदेश सरकार, स्थानीय सरकार तथा जनप्रतिनिधिलाई नागरिकको सुरक्षा सुदृढ बनाउन, घाइते तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन र सामाजिक सद्भाव पुनःस्थापनाका लागि सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएको छ।

त्यसैगरी कांग्रेसका सबै तहका संगठनलाई वडा तहसम्म विभिन्न राजनीतिक दल, सामाजिक संस्था, स्थानीय सरकार तथा सरोकारवालासँग संवाद र सहकार्य गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता प्रवर्द्धन गर्ने अभियानको नेतृत्व गर्न निर्णय गरिएको छ।

पार्टीले आफ्ना नेता–कार्यकर्तालाई सामाजिक सञ्जाल वा अन्य माध्यमबाट फैलाइने मिथ्या सूचना, अफवाह र उत्तेजनात्मक सामग्रीबाट टाढा रहन तथा कुनै पनि प्रकारको हिंसा, द्वेष वा साम्प्रदायिक तनाव बढाउने गतिविधिमा संलग्न नहुन स्पष्ट निर्देशन दिएको छ।

कांग्रेसले चेतावनी दिँदै भनेको छ कि पार्टीको कुनै पनि तहमा रहेका पदाधिकारी वा सदस्य हिंसात्मक गतिविधिमा संलग्न भएको वा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता खलबल्याउने कार्यमा सहभागी भएको पाइएमा त्यस्तो कार्य पार्टीका लागि पूर्णतः अस्वीकार्य हुनेछ र सम्बन्धित व्यक्तिमाथि पार्टी विधानअनुसार कडा अनुशासनात्मक कारबाही गरिनेछ।

 

 

 

प्रकाशित: १५ श्रावण २०८३ १७:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App