१६ आश्विन २०८२ बिहीबार
image/svg+xml ५:३३ पूर्वाह्न
राजनीति

मधेश बचाउन तीनै तहका सरकार जुट्न आवश्यक छ : मुख्यमन्त्री सिंह

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तराईका जिल्लामा देखिएको समस्या समाधानका लागि तीनै तहका सरकार जुट्न आवश्यक रहेको बताएका छन् । पर्याप्त पानी नपरेपछि रोपाइँ हुन नसक्दा तराईमा ठुलो समस्या निम्तिने देखिएपछि उनले तीन तहका सरकारबीच समन्वयको खाँचो औंल्याएका हुन् ।  

नेपाल रिपब्लिक मिडियाको प्रस्तुती कार्यक्रम नागरिक फ्रन्टलाइनमा कुरा गर्दै मुख्यमन्त्री सिंहले आकाशबाट पानी पर्न छाडेको, जमिन रिचार्ज नभएकाले पानीको स्रोत सुकेको लगायत कारण वैकल्पिक उपाय अपनाउन अब आवश्यक रहेको बताए । विगतमा फाट्टफुट्ट यो समस्या देखिएपनि यो वर्ष गम्भीररुपमा अगाडी आउनु चिन्ताको विषय भएको उनको भनाइ छ ।  

मधेश सरकारले सुख्खा क्षेत्र र संघीय सरकारले तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेपछि काठमाडौं आएका मुख्यमन्त्री सिंहले ५ सय डिप बोरिङ जडानपछि तत्कालका लागि समस्या समाधान भएपनि दीर्घकालिन नहुने तर्क गरे ।  

धान रोपाइँ हुन नसके किसानलाई वैकल्पिक खेतीका लागि प्रेरित गर्ने बताउँदै मुख्यमन्त्री सिंहले यसका लागि केन्द्र सरकारसँग प्याकेजमा सहमतिको प्रयास भइरहेको जानकारी दिए । एक साताभित्र पानी नपरे अहिले रोपिएको धानसमेत कामै नलाग्ने अवस्थामा पुग्ने बताउँदै उनले मधेशका किसानलाई वर्षदिनसम्म के खान दिने भन्ने चिन्ता थपिएको उल्लेख गरे । चुरे क्षेत्रबाट बग्ने खहरे खोला तथा हिमाली र पहाडी क्षेत्रबाट आउने नदीमा चेक ड्याम बनाउन सके सिँचाइको समस्या केही हदसम्म भएपनि समाधान हुने उनको भनाइ थियो ।  

बारा, पर्सासहितका केही जिल्लामा पिउने पानीको समेत चरम अभाव सुरु भएको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले आगामी १५ दिनभित्र यो समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । वीरगञ्जसहितका केही स्थानमा अहिले पनि नेपाली सेनासहित केही संघसंस्थाले पानी वितरणको काम गरेपनि यसले दीर्घकालिन समाधान भने नहुने उनको भनाइ थियो । विगतमा १५० फिटसम्म बोरिङ गर्दा पानी आउने गरेको भएपनि अहिले करिब ३ सय फिटसम्म गाड्नु पर्ने अवस्था सृजना भएको मुख्यमन्त्रीको भनाइ थियो ।  

मुख्यमन्त्री सिंहसँगको पूरा कुराकानी बुधबार राति ७ बजेदेखि नागरिक न्युजको आधिकारिक फेसबुक पेजमा हेर्न सक्नुहुन्छ ।  

प्रकाशित: १२ श्रावण २०८२ १८:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App