२३ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

‘Nepo Baby’ अभियान अराजकतावादीको हतियार: महेश बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले हाल सामाजिक सञ्जालमा चर्चामा रहेको ‘जेन–जी नेपो बेबी’ अभियान पुनरुत्थानवादी र अराजकतावादी तत्वहरूले चलाएको आरोप लगाएका छन्।

उनले सामाजिक सञ्जाललाई हतियार बनाएर राज्य, स्थापित दल र नेताहरूलाई बदनाम गर्ने अभियान असफल भएपछि आफ्नो असफलता ढाकछोप गर्न यस्तो अफवाह फैलाइएको आरोप लगाए।

सरकारले फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि ‘जेन–जी’ पुस्ताले सोमबार देशव्यापी प्रदर्शन गर्ने घोषणा गरेको छ। यही सन्दर्भमा टिकटक लगायतका प्लेटफर्ममा नेताहरूका छोराछोरीको जीवनशैलीलाई ‘नेपो बेबी’ भन्दै आलोचना भइरहेका बेला नेता बस्नेतको प्रतिक्रिया आएको हो।

आफ्नो छोरीको विवाह जस्तो पवित्र पारिवारिक क्षणलाई समेत टिकटकमा तोडमोड गरी गलत प्रचार गरिएकोमा आपत्ति जनाउँदै बस्नेतले आइतबार फेसबुकमा लखेका छन् ‘मेरो स्पष्ट चुनौती छ, मेरो छोरी, ज्वाइँ वा मेरो परिवारले नातावाद, कृपावाद वा राज्यका कुनै सेवा–सुविधा अनुचित रूपमा प्रयोग गरेका छैनन्। छ भने पुष्टि गर्न चुनौती दिन्छु।’

उनले आफ्नो र आफ्नो परिवारको सम्पत्ति तथा जीवनशैली पूर्ण पारदर्शी रहेको र जुनसुकै स्थानमा त्यसको पुष्टि गर्न तयार रहेको बताए।

‘मेरो चिकित्सक छोरी र राष्ट्रसेवक ज्वाइँको सामाजिक मर्यादामा आँच आउने, मानसिक यातना दिने र भ्रम फैलाउने यस्ता गतिविधि आपराधिक प्रकृतिका हुन्,’ बस्नेतले भने।

उनले रास्वपाका केही विवादित व्यक्तिहरूले समेत आफ्नो व्यक्तिगत झगडामा आफ्नो नाम जोड्ने प्रयास गरेको भन्दै त्यसको भर्त्सना गरे।

नेता बस्नेतले टिकटकजस्ता सामाजिक सञ्जाललाई अपराध र द्वेष फैलाउने माध्यम बन्नबाट रोक्न सरकारसँग माग गरे।

प्रकाशित: २२ भाद्र २०८२ १४:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App