सरकारले कानुनविपरीत र जथाभाबी रूपमा सवारीसाधन राखेर ‘सवारी आतंक’ सिर्जना गर्ने जो-कोहीलाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।
मन्त्रिपरिषद्का निर्णयहरू सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले यस्तो प्रतिबद्धता जनाएका हुन्।
सञ्चारमाध्यम र राजनीतिक नेताका घरअगाडि गाडी पार्किङ गरेर बाटो थुन्ने कार्य नियोजित नभएको मन्त्री पोखरेलले बताए।
सोमबार कान्तिपुर, अनलाइन खबर, हिमालय टीभी तथा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको निवास अगाडि नियमविपरीत सवारीसाधनहरू राखिएको र जरिबानासमेत नतिरी छाडिएको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले यसमा सरकारको कुनै योजना वा संलग्नता नरहेको बताए।
नियम मिचेर बाटो नै अवरुद्ध हुने गरी राखिएका ती गाडीहरूलाई प्रहरीले पछि क्रेन लगाएर हटाएको थियो।
‘यदि यो सरकारकै नियोजित कार्य हुन्थ्यो भने गृह मन्त्रालय मातहतको नेपाल प्रहरीले यसरी खोजी र अनुसन्धान गर्ने थिएन,’ प्रवक्ता पोखरेलले भने, ‘जुनसुकै पार्टीको भए पनि उहाँहरूले गर्नुभएको गल्तीका आधारमा प्रचलित कानुनअनुसार के सजाय हुनुपर्ने हो, त्यो भएरै छाड्छ।’
प्रवक्ता पोखरेलले सार्वजनिक व्यवस्थामा खलल पुर्याउने गरी सवारीसाधन राख्ने कार्यमा संलग्नहरूको प्रहरीले सूक्ष्म खोजी गरिरहेको जानकारी दिए।
यस कार्यमा संलग्न व्यक्ति जुनसुकै राजनीतिक दलसँग आबद्ध भए पनि कानुनबमोजिम सजाय हुने उनको भनाइ छ।
प्रकाशित: ३० असार २०८३ १८:५६ मंगलबार



-600x400.jpg)

