नेपाली कांग्रेसको विवाद फुटउन्मुख पुगेका बेला संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबिच संवाद जारी रहेको नेताहरूले बताएका छन्। यता भृकुटीमण्डपमा विशेष महाधिवेशन पक्षधरले निर्वाचन कार्यक्रम अघि बढाइरहँदा उता सानेपामा संस्थापन पक्षले केन्द्रीय समिति बैठक बस्ने तयारी गरिरहेको छ।
संस्थापन पक्ष केन्द्रीय समितिबाट महामन्त्री द्वय गगन थापा, विश्वप्रकाश शर्मालगायतलाई अनुशासनको कारबाही गर्ने तयारीमा छ। सहमति नजुटे पार्टी एक निर्णयमा पुग्ने कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिक्रिया दिएका छन्।
बुधबार बिहानमात्रै सभापति शेरबहादुर देउवाले महामन्त्री द्वय थापा र शर्मासँग वार्ता गरेका थिए। जसमा सभापति देउवाले आफू हदैसम्म लचक हुँदै उदार रहेको बताउँदै पार्टी नफुटाउन महामन्त्रीहरूसँग आग्रह गरेका थिए।
देउवाले कार्यवाहक यसअघि नै खड्कालाई दिइसकेको र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको टिकट वितरणमा हस्ताक्षर नगर्ने निर्णय पार्टीले गरे स्वीकार्ने बताएका थिए। तर, बैठक निष्कर्षविहीन सकियो।
वार्तालगत्तै दुवै महामन्त्री भृकुटीमण्डप पुगेर निर्वाचन कार्यक्रम अगाडि बढाएका थिए भने संस्थापन पक्ष सानेपा पुगेर बैठक अगाडि बढाउने तयारीमा जुटेको थियो।
यसैबिचमा महामन्त्री शर्माले अर्को प्रस्ताव पठाएपछि संस्थापन पक्ष त्यसमा छलफल गरिरहेको छ। यसैबिचमा केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टी विभाजन रोक्न संस्थापन पक्ष हदैसम्म लचिलो हुन तयार रहेको बताएका छन्।
‘हामी पार्टी जोगाउन जे पनि गर्न तयार छौँ,’ उनले भने। पत्रकारले गगन थापालाई प्रधानमन्त्रीमा अगाडि सार्न तयार हो? भन्ने प्रश्न गर्दा उनले त्यसमा पनि संस्थापन पक्ष तयार रहेको प्रतिक्रिया दिए।
प्रकाशित: ३० पुस २०८२ १३:५२ बुधबार





