४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

कर्मचारीलाई ऊर्जामन्त्रीले सोधे: दशौं वर्षसम्म बक्यौता किन उठेन ?

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणभित्र वर्षौंदेखि थुप्रिएको बेथिति र बक्यौता रकम असुल नभएकोमा कर्मचारीहरूको कार्यशैलीप्रति प्रश्न उठाएका छन्।

प्राधिकरणको ४०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री खड्काले दशकौँसम्म अर्बौं बक्यौता नउठ्दा पनि कर्मचारीहरूलाई आफ्नो जिम्मेवारीबोध किन भएन भन्दै आक्रोश व्यक्त गरे।

‘दशौं वर्षसम्म बक्यौता नउठ्दाखेरि यो बक्यौता उठाउने जिम्मेवारी हाम्रो हो, गर्नुपर्छ भन्ने लागेन तपाईंहरूलाई ?’ मन्त्री खड्काले कर्मचारीहरूलाई प्रश्न गर्दै भने, ‘त्यति उठाउने क्षमता त राख्नुपर्‍यो नि प्राधिकरणले !’

उनले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता असुलीका लागि आफूले मन्त्रालय सम्हालेदेखि नै प्रयास गरिरहेको बताए। मन्त्री खड्काले छानबिनका लागि अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा बनेको लाल आयोगको प्रतिवेदन दराजमा थन्क्याइएकोमा आफूले त्यसलाई सार्वजनिक गरेको समेत स्मरण गराए।

‘बक्यौता जति के-के को हो, हिसाब गरेर असुल गर्नुपर्छ,’ उनले भने, ‘सरकारले के गरिदिनुपर्ने ? तपाईंहरूलाई सम्पूर्ण जिम्मा दिएको छ।’

मन्त्री खड्काले कर्मचारीहरूलाई अधिकारको मात्र कुरा नगरी कर्तव्यको पनि ख्याल गर्न आग्रह गर्दै जिम्मेवारीबाट पन्छिन नमिल्ने चेतावनी दिए।

प्रकाशित: १ भाद्र २०८२ २०:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App