नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले पार्टीभित्र म नै हुँ, म बाहेक अरू कोही सक्षम छैन भन्ने व्यक्तिवादी प्रवृत्ति हाबी भएको भन्दै त्यसको आलोचना गरेका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै डा. महतले आगामी महाधिवेशनमा आफू पनि नेतृत्वको दाबेदार रहेको संकेत गर्दै आफूले पुरानो र नयाँ पुस्ताबिच ‘पुल’ को काम गर्न सक्ने दाबी गरे।
प्रवक्ता महतले पार्टीका महामन्त्रीहरू लगायत केही नेताहरूले आफूलाई मात्र केन्द्रमा राखेर ‘म आए मात्र सबै ठीक हुन्छ’ भन्ने भाष्य निर्माण गर्न खोजेको प्रति असन्तुष्टि जनाए।
‘फलानो नै एकदम योग्य हो, म आए मात्र जादु हुन्छ र समस्याको समाधान हुन्छ भन्ने प्रवृत्ति ठीक होइन,’ महतले भने, ‘यस्तो व्यक्तिवादी प्रवृत्तिले पार्टीलाई बलियो बनाउँदैन। पार्टीको कुरा गर्ने भन्दा पनि आफ्नो कुरा गर्ने बानी बढी देखियो।’
उनले को नेता हो र को होइन भन्ने कुराको फैसला आम मतदाता र कार्यकर्ताले गर्ने भन्दै आफैँले आफैँलाई विकल्प घोषणा गर्दै हिँड्नु राजनीतिक संस्कार नभएको जिकिर गरे।
आगामी महाधिवेशनमा आफ्नो भूमिका के हुन्छ भन्ने प्रश्नमा डा. महतले आफू पनि नेतृत्वका लागि सक्षम रहेको र चाहना राखेको स्पष्ट पारे।
उनले पार्टीभित्र चलिरहेको ‘जेनेरेसन ग्याप’ को विवाद मिलाउन आफू सबैभन्दा उपयुक्त पात्र हुन सक्ने दाबी गरे।
‘मेरो पनि चाहना छ। म हर किसिमबाट दाबी गर्न सक्छु,’ उनले भने, ‘अहिले जुन जेनेरेसनल ग्यापको कुरा उठिरहेको छ, त्यसलाई ‘ब्रिज’ गर्ने र सबैलाई मिलाएर लैजाने क्षमता म राख्छु। नयाँ पुस्तादेखि पुरानो पुस्तासम्मलाई जोड्ने आवश्यकता छ र त्यो भूमिका म निर्वाह गर्न सक्छु।’
डा. महतले २०८४ को आम निर्वाचनमा कांग्रेसले कुनै पनि दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने नीति लिने संकेत गरे।
‘अहिलेको परिस्थितिले हामीलाई केही बाध्यता सिर्जना गरे पनि आम निर्वाचनको हकमा हामी आफ्नै बलमा, एकल रूपमा लड्नुपर्छ भन्नेमा छौँ,’ उनले भने, ‘जनताको बिचमा जाँदा कांग्रेस एक्लै जानुपर्छ, गठबन्धनको वैशाखी टेक्नु हुँदैन भन्नेमा हामी प्रष्ट छौँ।’
प्रकाशित: १६ पुस २०८२ १९:५९ बुधबार





