जनमत पार्टीका असन्तुष्ट नेताहरूले 'जनस्वाभिमान यात्रा' सुरु गरेका छन्। पार्टीबाट निलम्बित राष्ट्रिय उपाध्यक्ष दीपक कुमार साह, कोषाध्यक्ष सुरेन्द्र नारायण यादव, केन्द्रीय सदस्य वीरेन्द्र साह सोनारलगायत नेताहरूले शुक्रबार (आज) रौतहटबाट यात्रा सुरु गरेका हुन्।
नेताहरूले गोलमेच आकारमा संवाद गरेका छन्। परम्परागत ढाँचाभन्दा फरक गर्ने ध्येयसहित यो आकारमा संवाद थालिएको राष्ट्रिय उपाध्यक्ष दीपक कुमार साहले बताए। फजुल खर्च नगर्ने र सबै समान देखिने गरी कार्यक्रम प्रारम्भ गरिएको उनले बताए। 'सोफा, फूलमाला, अबिरलगायतका वस्तुहरूमा फजुल खर्च छैन। कार्यक्रममा सहभागी सयौं साथीहरू सबै उही ढङ्गमा बस्नुभयो। समान ठाउँमा गोलाकार घेरामा बसेर बैठक, छलफल र अन्तर्संम्वाद गरिएको छ,' उनले भने।

यसले 'हामी सबै बराबर र समान हौँ' भन्ने लोकतान्त्रिक चेतको विकास गर्ने साहले बताए। 'हामीले लोकतान्त्रिकरणको सन्देश दिन खोजेका हौँ,' उनले भने, 'मालाले होइन, मनले स्वागत गर्ने। भाषणले होइन, व्यवहारले पुष्टि गर्ने। लामो सम्बोधन होइन, छोटो र मिठो सम्बोधन गर्ने। नयाँ पार्टी, नयाँ राजनीतिक संस्कार र संस्कृतिको विकास गर्ने प्रयास गरिएको छ।'
साह, यादव, सोनारलगायतका नेताहरू पार्टी अध्यक्ष डा. चन्द्रकान्त राउतसँग असन्तुष्ट छन्। अध्यक्ष राउतले पार्टीलाई 'परिवारवाद'मा फसाउन खोजेको, विधि-विधान भुलेर मनमौजी रूपमा पार्टीमा निर्णय गर्ने गरेको, पार्टी निर्माणार्थ योगदान गर्नेहरूलाई भुलेर अरुलाई नै राजनीतिक लाभ दिएको लगायतका आरोप लगाउँदै यी नेताहरूले जनस्वाभिमान यात्रा थालेका हुन्।

मधेस प्रदेशमा एक हप्ताभन्दा बढी रहने यो यात्रा त्यसपछि कोशीलगायतका अरु प्रदेश पुग्नेछ। पार्टीभित्र लोकतन्त्र पुनर्जागृत गर्ने र जनतालाई सही कुरा बुझाउने उद्देश्यसहित यो अभियान थालिएको नेताहरूले बताएका छन्।
प्रकाशित: २७ असार २०८२ २१:०४ शुक्रबार





