नेपाली कांग्रेसका निवर्तमा सभापति शेरबहादुर देउवाले मुलुक अहिले विषम परिस्थितिबाट गुज्रिरहेको बताएका छन्। विगतमा कांग्रेसले लोकतन्त्र र राजनीतिक परिवर्तनका लागि खेलेको भूमिकाको स्मरण गर्दै उनले विगतका कमजोरी सच्याएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
लामो समय स्वास्थ्य उपचारका क्रममा परिवारसहित विदेशमा रहेका देउवा हालै नेपाल फर्किएका हुन्। नेपाली कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले नेपाल फर्किएपछि विमानस्थलदेखि आफूलाई स्वागत गर्न उपस्थित नेता तथा कार्यकर्ताप्रति आभार व्यक्त गरे।
“म लामो समय स्वास्थ्य उपचार गर्न सपरिवार विदेश रहेँ। हिजोमात्र नेपाल आएको हुँ। मलाई स्वागत गर्न तपाईंहरूले विमानस्थलदेखिको उपस्थितिलाई हार्दिक आभार व्यक्त गर्दछु,” देउवाले भने।
देउवाले अहिले देश विषम परिस्थितिमा रहेको भन्दै यस्तो अवस्थामा कांग्रेसको विगतको भूमिका र योगदानलाई नयाँ पुस्ताले बुझ्न आवश्यक रहेको बताए।
उनले २००७ सालको राजनीतिक परिवर्तनदेखि २०३६ सालको जनमतसंग्रह, २०४६ सालको जनआन्दोलन हुँदै २०६२/६३ को आन्दोलनसम्म कांग्रेसले निर्वाह गरेको भूमिकाको समीक्षा गर्नुपर्ने बताए।
“नेपाली कांग्रेसले विगतमा के गर्यो भन्ने कुरा २००७ साल, ०३६ साल, ०४६ सालको आन्दोलन र ०६२/६३ को अवस्था बुझ्न जरुरी छ,” देउवाले भने।
उनले विगतका उपलब्धिसँगै भएका कमजोरीको समेत समीक्षा गर्दै सुधारको बाटोमा अघि बढ्नुपर्ने बताए। विगतका कमजोरी सच्याएर मात्रै पार्टी र मुलुकलाई सही दिशामा अघि बढाउन सकिने उनको भनाइ थियो।
“हामी विगतका कमजोरीलाई सच्याउँदै अघि बढ्दा मात्र सही बाटो पहिल्याउन सकिन्छ,” देउवाले भने।
देउवाले कांग्रेसले मुलुकमा भएका विकास र परिवर्तनका सकारात्मक पक्षलाई नयाँ पुस्तासम्म पुर्याउन नसक्दा नकारात्मक भाष्य बलियो बनेको बताए। विकासका उपलब्धि र राजनीतिक परिवर्तनका कथा नयाँ पुस्तालाई बुझाउन आवश्यक रहेको उनको भनाइ थियो।
“विकासका कथा कोर्न र नयाँ पुस्तासँग पुर्याउन जरुरी छ। केही भएन, सबै खराब भयो भन्ने भाष्य समाजमा उत्पन्न हुनुले यो अवस्था आयो,” देउवाले भने।
उनले विगतका योगदानको आत्मप्रशंसा मात्र नगरी त्यसबाट सिक्दै वर्तमान चुनौतीको सामना गर्न कांग्रेस अघि बढ्नुपर्ने संकेत गरे। पार्टीले आफ्ना कमजोरी सुधार्दै सकारात्मक उपलब्धिलाई जनतामाझ पुर्याउन सके नयाँ पुस्तासँगको सम्बन्धसमेत बलियो बन्ने उनको धारणा थियो।
प्रकाशित: २९ श्रावण २०८३ १९:५४ शुक्रबार





