नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको अकर्मण्यता र सुशासनको अभावले नेपाल अन्तर्राष्ट्रिय रूपमा ‘कालो सूची’ मा पर्ने जोखिम बढेको बताएका छन्।
बुधबार झापामा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सम्पत्ति शुद्धीकरण निवारण र भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको आरोप लगाए।
अध्यक्ष ओलीले भने, ‘अहिले देशमा भ्रष्टाचार बढेको छ, सुशासन भन्ने चिज छैन। सम्पत्ति शुद्धीकरण निवारणको सन्दर्भमा प्रभावकारी काम हुन नसक्दा देश ‘ब्ल्याक लिस्ट’ को नजिक पुग्ने खतरा बढेको छ।’
उनले आफ्नो नेतृत्वको सरकार हुँदा नेपाललाई कालो सूचीमा पर्नबाट जोगाएको स्मरण गर्दै अहिलेको सरकार आएको ९–१० महिनामै मुलुकको अन्तर्राष्ट्रिय साख गिरेको दाबी गरे।
‘हामीले देशलाई कालो सूचीमा पर्नबाट बचाएका थियौं, तर अहिलेको सरकारको लाचारीले गर्दा पुनः त्यो जोखिम मडारिएको छ,’ ओलीले भने।
सम्बोधनका क्रममा उनले वर्तमान सरकार गठन भएपछि भ्रष्टाचार संस्थागत भएको र विकास निर्माणका काम ठप्प भएको आरोप लगाए
विश्व बैंकको तथ्यांक उल्लेख गर्दै उनले आफ्नो कार्यकालमा नेपाल तीव्र आर्थिक वृद्धि गर्ने विश्वका उत्कृष्ट १० देशभित्र परेको भए पनि अहिले अर्थतन्त्र धराशायी भएको बताए।
अध्यक्ष ओलीले देशलाई आर्थिक संकट र अन्तर्राष्ट्रिय प्रतिबन्धको जोखिमबाट जोगाउन नेकपा एमालेको नेतृत्व अपरिहार्य रहेको जिकिर समेत गरे।
प्रकाशित: ७ माघ २०८२ १६:३६ बुधबार





