नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुक संकटमा परेका बेला उत्तेजना र आवेगले भन्दा अनुभवी नेतृत्वले मात्र निकास दिन सक्ने दाबी गरेका छन्।
बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले डुङ्गाको उदाहरण दिँदै अहिलेको समयमा कांग्रेसको आवश्यकता अपरिहार्य रहेको तर्क गरे।
शर्माले फेवातालमा डुङ्गा चलाउन सिक्दै गरेका यात्रीको प्रसङ्ग उल्लेख गर्दै भने, ‘डुङ्गा सिक्दै गर्दा र शान्त तालमा चलाउँदा सबैलाई सजिलो लाग्छ। तर, जब तालको बीचमा आँधी-हुरी आउन थाल्छ, तब सिक्दै गरेकाले होइन, डुङ्गा चलाउन जान्ने अनुभवी माझीले नै त्यसलाई किनारा लगाउनुपर्छ।’
उनले देशको वर्तमान राजनीतिक अवस्थालाई पनि सोही डुङ्गासँग तुलना गर्दै चुनौतीपूर्ण समयमा मुलुकलाई कांग्रेसले मात्र सही दिशा दिन सक्ने बताए।
उपसभापति शर्माले संसार बदल्नुअघि आफूलाई बदल्नुपर्ने विश्वप्रसिद्ध चिन्तकहरूको धारणालाई आत्मसात् गर्दै कांग्रेसले आफूभित्र रूपान्तरण सुरु गरेको सुनाए।
‘यदि तपाईं संसार बदल्न चाहनुहुन्छ भने सबैभन्दा पहिले आफूलाई बदल्नुहोस्,’ उनले भने, ‘कांग्रेस समयको मागलाई बुझेर आफूलाई बदलेर नयाँ सोचका साथ मधेशको माटोमा आएको छ। जो आफैँ बदलिन्छ, उसले मात्र देश बदल्न सक्छ।’
उनले आगामी निर्वाचनपछि बन्ने सरकारको मुख्य प्राथमिकता पाँच वर्षसम्म एउटै प्रधानमन्त्रीले मुलुक हाँक्ने सुनिश्चितता हुनुपर्नेमा जोड दिए।
‘हामीले प्रतिज्ञा पत्रमार्फत सुशासन र स्थिरताको खाका ल्याएका छौं,’ शर्माले थपे, ‘निर्वाचन सकिएपछि संविधानमा गर्नुपर्ने आधारभूत सुधारका लागि सबै दलबीच राष्ट्रिय संवाद र सहमति आवश्यक छ ताकि पटक-पटकको सरकार परिवर्तनले विकास नरोकियोस्।’
कांग्रेसलाई पुरानो भन्नेहरूको आलोचना गर्दै उनले कांग्रेस इतिहास र अनुभवको संगम भएको बताए। मधेश र पहाडको भावनालाई कांग्रेसले मात्र एउटै सूत्रमा गाँस्न सक्ने भन्दै उनले मतदातालाई कुनै पनि भ्रम र आवेगमा नपर्न अपील गरे।
शर्माले भने, ‘यो देश बनाउन आँखामा सपना र मनमा हुटहुटी बोकेका युवाहरूलाई समेट्दै कांग्रेस अघि बढ्छ।’
प्रकाशित: ६ फाल्गुन २०८२ १९:४७ बुधबार




-600x400.jpg)
