कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालु आर्थिक वर्ष सुरु हुने दिन साउन एक गते नै प्रदेशका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कँडेलसँग मन्त्रीहरु तथा प्रमुख सचिवले कार्यसम्पादन सम्झौता गरेका हुन ।
प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ मा सम्बन्धित मन्त्रालयलाई तोकिएको क्षेत्राधिकार भित्र रही कार्यसम्पादन गर्न तथा चालु आर्थिक वर्षको विनियोजित बजेटलाई नतिजामुखी तथा प्रभावकारी बनाउन आर्थिक वर्ष सुरु भएकै दिन मुख्यमन्त्रीले मन्त्रीहरु र प्रमुख सचिवबिच कार्यसम्पादन सम्झौता गरेका हुन ।
कार्यक्रममा मुख्यमन्त्री कँडेलसँग आर्थिक योजना मन्त्री राजीवविक्रम शाह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाह, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री शेरबहादुर बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सुरेशकुमार अधिकारी र प्रमुख सचिव वीरेन्द्रकुमार यादवले कार्य सम्झौता गरेका थिए ।
कार्यक्रममा मुख्यमन्त्री कँडेलले माथिल्लो निकायलाई आफ्नो जिम्मेवारी र जबाफदेहितासहित मन्त्रालयका कामकारबाहीलाई थप प्रभावकारी बनाउन कार्यसम्पादन सम्झौता गर्नु परेको बताए । मुख्यमन्त्री कँडेलले माथिल्लो निकाय जिम्मेवार र जबाफदेही बन्दा त्यसको प्रभाव तल्लो तहसम्म जाने र त्यसले कार्यसम्पादनसँगै जबाफदेही बनाउने हुँदा प्रदेश सरकारको माथिल्लो तहबाट कार्यसम्पादन सम्झौता गरिएको बताए । उनले भने, लोकतन्त्रमा माथिल्लो तह जति जिम्मेवार हुन्छ, त्यो सबैको लागि अनुकरणीय हुन्छ ।
मुख्यमन्त्री कँडेलले कार्यसम्पादन सम्झौतामा उल्लेख गरेका विषयहरूलाई मन्त्रालयले वार्षिक क्यालेन्डर बनाएर लागू गर्न मन्त्रीहरूलाई निर्देशन दिए। उनले भने, ‘अहिले तपाईँसँग गरिएको कार्य सम्झौतालाई आधार बनाएर आफ्ना सचिवहरूसँग परिणाम आउने गरी कार्य तालिकासहितको कार्यसम्पादन सम्झौता गर्नुहोस्।’
मुख्यमन्त्री कँडेलले नागरिकबाट समर्थन पाउने गरी आफ्ना कामकारबाही सम्पन्न गर्न पनि मन्त्रीहरूलाई निर्देशन दिए। उनले भने, तपाईहरुको कार्यसम्पादन नै जनताबाट पाउने जनसमर्थन पाउने आधार हो, अनुहार हेरेर जनसमर्थन प्राप्त हुदैन ।’ प्रमुख सचिव यादवले कर्णाली प्रदेश सुशासन ऐन २०७६ को १८ मा व्यवस्था भए बमोजिम कार्यसम्पादन सम्झौता गरिएको बताए । उन अनुसार मन्त्रीहरुले मातहतका सचिव र सचिवले कार्यालय प्रमुखहरूसँग कार्यसम्पादन सम्झौता अनिवार्य रुपमा कार्यसम्पादन सम्झौता गर्नुपर्नेछ ।
प्रकाशित: १ श्रावण २०८२ १६:१४ बिहीबार





