राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक शुक्रवार(आज) बस्दै छ। दिउँसो १ बजेबाट बैठक बस्न लागेको रास्वपाले जनाएको छ। पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको बैठकमा विभिन्न १३ अजेन्डामा केन्द्रित रहेर छलफल गर्ने रास्वपाको तयारी छ।
तय भएका अजेन्डाअनुसार ‘समसामयिक राजनैतिक एवं पार्टी गतिविधि सम्बन्धमा’ केन्द्रीय विभागको प्रगति रिपोर्ट, संसदीय दलको रुपन्देही बैठक अपडेट, रुपन्देही उपनिर्वाचन अपडेट, रुपन्देही संगठन अपडेट, कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन प्रतिवेदनलगायतका विषयमा छलफल गर्ने रास्वपाले जनाएको छ।
यस्तै प्रदेश इन्चार्जका प्रदेश रणनीतिको सार एवं रिपोर्ट, केन्द्रीय सदस्यको रिपोर्टिङ, पार्टी सचिवालय बैठकका निर्णयहरूमा छलफल र अनुमोदन, विधान व्याख्या तथा अनुमोदन, केन्द्रीय विभागको प्रमुख मनोनयन, पूर्व केन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेवारी दिने प्रस्ताव, पार्टीको निर्वाचन आयोगमा मनोनयन, रणनीतिक समूह गठन, संगठन सबलीकरणका लागि केन्द्रीय समिति, केन्द्रीय विभागलाई थप जिम्मेवारी दिने विषय पनि अजेन्डाका रूपमा तय भएका छन्।
यस्तै विदेशमा रहेका नेपाली नागरिकहरूलाई मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध जनताको हस्ताक्षरबारे प्रगति रिपोर्ट र अभियान थप प्रभावकारी बनाउने विषय पनि रास्वपाले छलफलको अजेन्डा तय गरेको छ।
यस्तै विविध विषयमा अधिवेशन प्रतिनिधि समय विन्दु, मधेस प्रदेश सहमहामन्त्री सिफारिस, पार्टी सचिवालयबाट अनुमोदन भएको पार्टी केन्द्रीय कार्यालयको अनुमानित बजेट प्रस्तुत र सांसदहरूको लेबी सम्बन्धमा पनि छलफल हुने रास्वपाले जनाएको छ।
प्रकाशित: २३ श्रावण २०८२ १२:१४ शुक्रबार





