भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले वर्तमान सत्ता गठबन्धनमा एक वर्षपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति नै रहेको बताएका छन्।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको जवाफ दिने क्रममा उनले मन्त्री पद सधैँका लागि नभएको र गठबन्धनमा एक वर्षपछि पुनर्गठन गर्ने सहमति नै रहेको बताएका हुन्।
अडियो प्रकरणमा आफ्नो संलग्नता अस्वीकार गर्दै उनले भने, ‘मन्त्री पद सधैँका लागि होइन। हाम्रो एक वर्षपछि मन्त्रिपरिषद् पुनर्गठन हुने सहमति नै हो। सहमतिको आधारमा पुनर्गठन हुनेवाला नै छ। त्यसकारण यो एउटा पाटो हो।’
आफूमाथि लागेको आरोपबारे बोल्दै उनले थपे, ‘मेरो चरित्र हत्या गर्ने नियोजित प्रयास भएको छ। आफ्नो स्वार्थ पूरा नभएपछि यस्ता कुरा बाहिर ल्याइएको हो। अडियोमा मेरो संलग्नता प्रमाणित भए म जस्तोसुकै सजाय भोग्न तयार छु।’
उनले आफूमाथि लागेको आरोपको छानबिनका लागि तयार रहेको बताउँदै मिडियालाई तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न आग्रह गरे। ‘मलाई छानबिन गर्नुहोस्, म तयार छु। तर हल्लाको भरमा मेरो र मेरो परिवारको नाम मुछेर चरित्र हत्या नगरियोस्,’ उनले भने।
प्रकाशित: १ श्रावण २०८२ १७:०३ बिहीबार


-600x400.jpg)


