नेपाली कांग्रेसका युवा नेता सचिन तिमल्सेनाले गलत नीतिको प्रतिफल सरकार आफैँले भोग्नुपरेको बताएका छन्। नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आज बिहानैदेखि सिंहदरबारमा मोटरसाइकल राखेर विरोध गरेपछि उनले यस्तो बताएका हुन्।
सरकारले सोमबार मिडिया हाउस अगाडी गाडी पार्किङ गरेर भय सिर्जना गरेको विषयलाई लिएर अनेरास्ववियुकाले आज सिंहदरबार अगाडि मोटरसाइकल पार्किङ गरेर विरोध गरेका हुन्।
उक्त घटनालाई लिएर तिमल्सेनाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘राजनीतिको एउटा सोझो नियम हुन्छ, तपाईं जस्तो राजनीति गर्नुहुन्छ, तपाईंले त्यस्तै राजनीति भोग्नुपर्छ। केही दिनअघि राज्यले नै मिडियाका कार्यालय र प्रतिपक्षी दलका सभापतिको घरअगाडि लावारिस रूपमा गाडी छोड्यो। आज एमालेले सिंहदरबारअगाडि मोटरसाइकल राखेर त्यसको जवाफ दियो।’
नेता तिमल्सेनाले थप लेखेका छन्, ‘बिष रोपेर अमृत फल्दैन है, राज्य आतङ्कको जवाफ हिंसाबाटै आउँछ। अनि त्यसको दुष्परिणाम सबैले भोग्नुपर्छ।’
प्रकाशित: ३१ असार २०८३ १३:०९ बुधबार





