विषय कि विधि?
बुद्धले गणितको सूत्र लेखेनन्, चिकित्साशास्त्रको ग्रन्थ रचेनन्, राज्य सञ्चालनको विधान तयार पारेनन्। तर उनले मानिसलाई यस्तो विधि दिए, जसले ज्ञानका सबै क्षेत्रलाई नैतिकता, करुणा र विवेकको उज्यालोमा हेर्न सिकायो। उनले जीवनगत्लाई हेर्ने नयाँ विधि दिएका थिए । त्यसैले बुद्धको सबैभन्दा ठूलो योगदान कुनै एउटा विषयको ढाँचा तयार पार्नु होइन; समस्याबाट बाहिर निस्कने विधिको आविष्कार हो।
सायद यही कारणले बुद्ध र उनको शिक्षासँग सम्बन्धित हरेक संस्थामाथि समय–समयमा एउटै प्रश्न उठ्ने गरेको छ,बुद्धको शिक्षालाई सुरक्षित कसरी राख्ने? पुस्तकालयमा कि जीवनमा? स्तूपभित्र कि समाजभित्र? शास्त्रमा कि व्यवहारमा?
आज यही प्रश्न लुम्बिनी बौद्ध विश्वविद्यालयका सन्दर्भमा नयाँ रूप लिएर उभिएको छ। बौद्ध विश्वविद्यालयले बौद्ध दर्शन, साहित्य, संस्कृति र कला मात्र पढाउने कि व्यवस्थापन, सूचना प्रविधि, शिक्षाशास्त्र, पर्यटन, अन्तर्राष्ट्रिय सम्बन्ध, विकास अध्ययन वा अन्य समकालीन विषयहरू पनि सञ्चालन गर्ने? पहिलो दृष्टिमा यो कार्यकक्रमबारे विवादजस्तो देखिन्छ। तर भित्री तहमा यो विश्वविद्यालयको सारलाई कसरी बुझ्ने भन्ने प्रश्न हो। बुद्धको शिक्षालाई एउटा विषय बनाउने कि विधि बनाउने भन्ने प्रश्न हो।
यस प्रश्नको उत्तर कुनै आवेगले दिन सक्दैन। न त कुनै एक पक्षको आग्रहले। यसको उत्तर इतिहासले दिनुपर्छ। बुद्धकालीन विहारहरूले दिनुपर्छ। नालन्दाका भग्न इँटाहरूले दिनुपर्छ। आधुनिक विश्वका बौद्ध विश्वविद्यालयहरूको अनुभवले दिनुपर्छ। र अन्ततः लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना-दर्शन, यसको ऐन, संस्थागत संरचना र नेपाली समाजको वर्तमान आवश्यकताले दिनुपर्छ। किनकि विश्वविद्यालय अतीतको सम्झना मात्र होइन; भविष्य निर्माण गर्ने सामाजिक संस्था पनि हो।
विहारहरूः विश्वविद्यालयका बिउ
विश्वविद्यालयको इतिहास भवनबाट सुरु हुँदैन; जिज्ञासाबाट सुरु हुन्छ। संसारमा पहिलोपटक कुनै मानिसले "किन?" भनेर प्रश्न गरेको क्षणदेखि विश्वविद्यालयको बिउ रोपिएको थियो। बुद्धले त्यही प्रश्नलाई जीवनको केन्द्रमा राखे। उनले आफ्ना अनुयायीलाई विश्वासभन्दा पहिले परीक्षण गर्न, परम्पराभन्दा पहिले अनुभव गर्न, र सुनेकोभन्दा पहिले बुझेको कुरालाई स्वीकार गर्न सिकाए। यही शिक्षाले बौद्ध परम्परालाई संसारकै सबैभन्दा जीवन्त बौद्धिक परम्परामध्ये एक बनायो।
बुद्धकालीन विहारहरूलाई आजको अर्थमा केवल मठ भन्नु पर्याप्त हुँदैन। ती साधनाका केन्द्र थिए, तर त्यति मात्र होइन। ती अध्ययनका केन्द्र थिए। संवादका केन्द्र थिए। नैतिक अभ्यासका केन्द्र थिए। समाजले आफ्ना प्रश्न लिएर पुग्ने खुला विद्यालय थिए। त्यहाँ धर्म जीवनबाट अलग विषय थिएन; जीवनलाई सही ढङ्गले बाँच्ने कला थियो।
भिक्षु बन्ने व्यक्तिले केवल सूत्र कण्ठस्थ गरेर पुग्दैनथ्यो। उसले भाषा सिक्नुपर्थ्यो, स्मरणशक्ति विकास गर्नुपर्थ्यो, तर्क गर्न जान्नुपर्थ्यो, समुदायमा बस्ने अनुशासन सिक्नुपर्थ्यो। बिरामी सहभिक्षुको सेवा गर्न औषधिको सामान्य ज्ञान आवश्यक थियो। विहार सञ्चालन गर्न व्यवस्थापन चाहिन्थ्यो। यात्राका लागि भूगोल र जनजीवनको ज्ञान चाहिन्थ्यो। जनसमुदायसँग संवाद गर्न भाषा र अभिव्यक्तिको क्षमता चाहिन्थ्यो। यसरी शिक्षा जीवनका हरेक पक्षसँग जोडिएको थियो।
विनयपिटकका अनेक प्रसङ्गहरूमा बुद्धले शिक्षा केवल ध्यान वा उपदेशमा सीमित राखेका छैनन्। रोगी भिक्षुको सेवा नगर्ने समुदायलाई उनले सम्झाउँछन्, "रोगीको सेवा गर्नु मेरो सेवा गर्नु हो।" यो केवल करुणाको उपदेश होइन; शिक्षा र स्वास्थ्यबीचको सम्बन्धको उद्घोष पनि हो। विहारको सरसफाइदेखि सङ्घको व्यवस्थापनसम्म, भोजनको मर्यादादेखि सामाजिक उत्तरदायित्वसम्म- सबै शिक्षा नै थिए। बुद्धका लागि जीवन र शिक्षाबीच कुनै पर्खाल थिएन।
यही बिन्दु आजको बहसमा सबैभन्दा महत्त्वपूर्ण छ। बुद्धले ज्ञानलाई कहिल्यै पवित्र र अपवित्र, धार्मिक र लौकिक भनेर विभाजन गरेनन्। उनले एउटा मात्र प्रश्न गरे- यो ज्ञानले दुःख घटाउँछ कि बढाउँछ? यसले मानिसलाई विवेकी बनाउँछ कि लोभी? यसले समाजमा करुणा बढाउँछ कि विभाजन? यही नै बौद्ध शिक्षाको वास्तविक कसौटी थियो।
त्यसैले बुद्धकालीन विहारहरूमा ज्ञानको ढोका साँघुरो थिएन। त्यहाँ जीवन बुझ्न आवश्यक पर्ने हरेक विद्या सम्मानित थियो। यही उदार परम्पराले केही शताब्दीपछि संसारलाई नालन्दा दियो - एउटा यस्तो विश्वविद्यालय, जहाँ बुद्धको शिक्षा केन्द्रमा थियो, तर ज्ञानका सबै नदीहरू आएर त्यहीँ मिसिन्थे।
नालन्दा : जहाँ संसार पढ्न आउँथ्यो
इतिहासमा केही ठाउँहरू यस्ता हुन्छन्, जहाँ पुगेर भूगोल समाप्त हुन्छ र सभ्यता सुरु हुन्छ। नालन्दा त्यस्तै एउटा बिन्दु थियो। आज त्यहाँ भग्नावशेष छन्, भत्किएका विहारका भित्ताहरू छन्, इँटाका थुप्रा छन्। तर ती इँटाहरू मौन छैनन्। तिनले आज पनि एउटा कथा सुनाइरहेका छन् - ज्ञानको कुनै सीमारेखा हुँदैन।
बुद्धको महापरिनिर्वाणपछि उनका अनुयायीहरूले केवल धर्मको संरक्षण गरेनन्; ज्ञानको संस्कारलाई पनि निरन्तरता दिए। साना विहारहरू अध्ययनका केन्द्र बने। अध्ययनका केन्द्रहरू महाविहारमा रूपान्तरित भए। ज्ञानको आवश्यकताले तिनलाई अझ विस्तृत बनाउँदै लग्यो। यही यात्राको सबैभन्दा उज्यालो शिखर थियो- नालन्दा।
नालन्दा कुनै राजाको महत्त्वाकाङ्क्षाबाट जन्मिएको संस्था थिएन। यो शताब्दीयौँसम्म सञ्चित बौद्धिक तपस्याको परिणाम थियो। यहाँ ज्ञानलाई सम्पत्ति मानिँदैनथ्यो; साझा उत्तरदायित्व मानिन्थ्यो। त्यसैले चीनबाट आएका ह्वेनसाङ् र इत्सिङ्, कोरियाका रश्रीलङ्काका साधक, सुमात्राका जिज्ञासू- सबै एउटै प्राङ्गणमा बसेर सिक्थे, सिकाउँथे र बहस गर्थे। नालन्दा कुनै देशको विश्वविद्यालय थिएन; संसारको विश्वविद्यालय थियो।
तर नालन्दाको सबैभन्दा ठूलो विशेषता यसको अन्तर्राष्ट्रियता पनि थिएन। यसको वास्तविक विराटताज्ञानप्रतिको दृष्टिमा थियो।
आज पनि कहिलेकाहीँ यस्तो भ्रम सुनिन्छ-बौद्ध विश्वविद्यालय भनेपछि त्यहाँ त्रिपिटक मात्र पढाइन्थ्यो होला। तर नालन्दाको इतिहासले यो भ्रमलाई पहिलो पानामै भङ्ग गरिदिन्छ। बौद्ध दर्शन त्यहाँको सार थियो, तर अस्थिपञ्जरका रूपमा अन्य विषयहरू। त्यसैले नालन्दामा व्याकरण पढाइन्थ्यो, किनकि भाषाविनाको दर्शन मौन हुन्छ। तर्कशास्त्र पढाइन्थ्यो, किनकि प्रश्न नगर्ने चेतना प्रज्ञासम्म पुग्न सक्दैन। चिकित्साशास्त्र पढाइन्थ्यो, किनकि करुणाले बिरामीको उपचार पनि खोज्छ। गणित र खगोल पढाइन्थ्यो, किनकि सत्यको खोज केवल ध्यानमा होइन, प्रकृतिको अध्ययनमा पनि हुन्छ। साहित्य, कला, भाषाशास्त्र, राजनीति, न्याय, दर्शनका विविध परम्परा-सबै एउटै बौद्धिक आकाशमुनि संवाद गरिरहेका हुन्थे।
त्यहाँ कुनै विषय बुद्धसँग प्रतिस्पर्धा गर्दैनथ्यो; सबै विषय बुद्धको प्रज्ञासँग संवाद गर्थे। यही कारणले नालन्दा बहुविषयक थियो, तर दिशाहीन थिएन। विविध थियो, तर विखण्डित थिएन। त्यहाँ ज्ञानको विस्तार थियो, तर मूल्यको विघटन थिएन।
नालन्दाको अर्को विशेषता थियो-खुला बहस। सत्यलाई आदेशले स्वीकार गरिँदैनथ्यो; तर्कले स्थापित गरिन्थ्यो। मतभिन्नतालाई शत्रुता होइन, अनुसन्धानको अवसर मानिन्थ्यो। आचार्यहरू आफ्ना शिष्यलाई उत्तर सम्झाउनभन्दा पहिले प्रश्न गर्न सिकाउँथे। यही कारणले नालन्दाबाट निस्केका विद्वान्हरू केवल धर्मप्रचारक बनेनन्; उनीहरू अनुवादक बने, दार्शनिक बने, चिकित्सक बने, शिक्षक बने, संस्कृतिका सेतु बने। उनीहरूले देश–देशान्तरमा केवल बौद्ध धर्म फैलाएनन्; ज्ञानको एउटा उदार संस्कार पनि फैलाए।
नालन्दा एक्लो थिएन। विक्रमशिला, ओदन्तपुरी, सोमपुर, जगद्दल, वल्लभीजस्ता महाविहारहरूले पनि यही परम्परालाई विस्तार गरे। ती सबै संस्थाहरूको साझा विश्वास एउटै थियो-ज्ञानलाई सानो बनाउँदा परम्परा जोगिँदैन; ज्ञानलाई गहिरो र व्यापक बनाउँदा मात्र परम्परा जीवन्त रहन्छ। उनीहरूले बुद्धको शिक्षालाई एउटा कोठामा बन्द गरेनन्; संसारका नयाँ–नयाँ प्रश्नहरूसँग निरन्तर संवाद गराए। त्यसैले उनीहरू इतिहास बनेनन्; सभ्यताको आधार बने।
यही इतिहासले आज हाम्रो काँधमा एउटा प्रश्न राखेको छ। यदि नालन्दाले आफ्नो समयका सबै उपयोगी विद्यालाई करुणा र प्रज्ञाको आलोकमा अध्ययन गर्न सक्थ्यो भने आजको बौद्ध विश्वविद्यालयले व्यवस्थापन, सूचना प्रविधि, शिक्षाशास्त्र, पर्यटन, वातावरण, विकास अध्ययन वा अन्तर्राष्ट्रिय सम्बन्धसँग संवाद गर्न किन सक्दैन? प्रश्न विषयको होइन; प्रश्न तिनलाई निर्देशित गर्ने दर्शनको हो।
साँचो कुरा त के हो भने, नालन्दाले हामीलाई एउटा विश्वविद्यालय मात्र छोडेको छैन। उसले एउटा कसौटी छोडेको छ। त्यो कसौटी आज पनि उही छ-ज्ञानको विस्तार गर, तर विवेक नगुमाऊ। विषयहरू थप, तर मूल्यहरू नघटाऊ। संसार पढ, तर बुद्धको विधि नबिर्स।
सायद यही कारणले नालन्दाको यात्रा त्यहाँ समाप्त भएन। समय बदलियो, महादेश बदलिए, भाषाहरू फेरिए; तर बुद्धको दृष्टिले संसार पढाउने परम्परा नयाँ रूप लिएर फेरि उभिन थाल्यो। आज थाइल्याण्डदेखि जापान, श्रीलङ्कादेखि ताइवान, र अमेरिकासम्म फैलिएका बौद्ध विश्वविद्यालयहरू त्यही परम्पराका आधुनिक अध्याय हुन्। इतिहासको नदी अहिले पनि बगिरहेको छ।
बौद्ध विश्वविद्यालयहरूको समयसँग संवाद
इतिहासको सबैभन्दा ठूलो भ्रम के हो भने मानिसहरूले परिवर्तनलाई परम्पराको शत्रु ठान्छन्। वास्तवमा जीवित परम्परा कहिल्यै परिवर्तनसँग डराउँदैन। परिवर्तनसँग डराउने वस्तु परम्परा होइन, परम्पराको खोल मात्र हो। बुद्धले आफैं कुनै जड सिद्धान्त दिएनन्; उनले जीवनलाई समयअनुसार बुझ्ने पद्धति दिए। त्यसैले बौद्ध शिक्षाको इतिहास हेर्दा एउटा कुरा स्पष्ट देखिन्छ- यसले आफ्नो मूल दर्शन जोगायो, तर परिपाटीलाई समयसँगै अनुकूलन लग्यो।
नालन्दा र विक्रमशिलाको भौतिक अस्तित्व इतिहासका आँधीमा हरायो। पुस्तकालयहरू जले, विहारहरू उजाडिए, विद्वान्हरू संसारभरि छरिए। तर एउटा कुरा नष्ट भएन- ज्ञानलाई करुणा र प्रज्ञाको आलोकमा हेर्ने संस्कार। त्यही संस्कारले नयाँ–नयाँ भूगोलमा नयाँ विश्वविद्यालय जन्मायो।
आज थाइल्याण्डकाविश्वविद्यालयहरूबौद्ध अध्ययनका विश्वप्रसिद्ध केन्द्र मानिन्छन्। तर त्यहाँको शिक्षा त्रिपिटकको अन्तिम पानामा टुङ्गिँदैन। शिक्षा, सार्वजनिक प्रशासन, मानविकी, शान्ति अध्ययन, सामाजिक विज्ञान, विकास अध्ययनजस्ता विषयहरू पनि त्यही करुणा र नैतिक उत्तरदायित्वको आधारमा पढाइन्छन्। उनीहरूले बुद्धलाई पाठ्यक्रमको एउटा कोठामा राखेका छैनन्; विश्वविद्यालयको सम्पूर्ण वातावरणमै बुद्धको दृष्टिलाई प्रवाहित गरेका छन्।
श्रीलङ्कामाबौद्ध अध्ययन गौरवको विषय हो, तर त्यससँगै विज्ञान, सूचना प्रविधि, वाणिज्य, व्यवस्थापन, चिकित्सा, समाजशास्त्र र भाषा अध्ययन पनि समानान्तर रूपमा अगाडि बढिरहेका छन्। कसैले यसलाई बौद्ध पहिचानको ह्रास भनेको छैन। बरु यसलाई बौद्ध शिक्षाले आधुनिक समाजसँग गरेको सृजनात्मक संवादका रूपमा स्वीकार गरिएको छ।
जापानमाशिक्षा, अर्थशास्त्र, कानुन, अन्तर्राष्ट्रिय सम्बन्ध र व्यवस्थापनलाई मानव–केन्द्रित दर्शनसँग जोडिएको छ बौद्ध अध्ययन। ताइवानले सञ्चार, सूचना प्रविधि, स्वास्थ्य विज्ञान र व्यवस्थापनलाई बौद्ध मानवतावादसँग समन्वय गरेको छ। अमेरिकाकोनारोपा विश्वविद्यालयमा मनोविज्ञान, शिक्षा, कला, रचनात्मक लेखन र चेतना अध्ययनबीच कुनै कृत्रिम पर्खाल छैन।अमेरिकाका कतिपय विश्वविद्यालयमा व्यवसाय, मनोविज्ञान, अन्तर्राष्ट्रिय अध्ययन र बौद्ध दर्शनलाई एउटै शैक्षिक दृष्टिको विभिन्न आयामका रूपमा विकास गरिएको छ।
यी विश्वविद्यालयहरूको साझा विशेषता के हो?
तिनीहरूले नयाँ विषय थपे।
तर नयाँ सार थपेनन्।
सार उही रह्यो-बुद्धको।
परिवर्तन पाठ्यक्रममा भयो; दर्शनमा भएन।
यही भिन्नता बुझ्नु आज अत्यन्त आवश्यक छ। किनभने विश्वविद्यालयको बौद्धिक चरित्र उसले कति विषय पढाउँछ भन्ने कुराले निर्धारण गर्दैन; ती विषयहरूलाई कुन नैतिक दृष्टिले पढाउँछ भन्ने कुराले निर्धारण गर्छ। व्यवस्थापन आफैंमा न बौद्ध हो, न अबौद्ध। त्यसलाई लोभको साधन बनाइयो भने त्यो बुद्धको शिक्षाभन्दा टाढा जान्छ; त्यसलाई उत्तरदायी नेतृत्व, पारदर्शिता र सामाजिक न्यायको माध्यम बनाइयो भने त्यही व्यवस्थापन बौद्ध विश्वविद्यालयको पनि विषय बन्न सक्छ।
सूचना प्रविधिको प्रश्न पनि त्यस्तै हो। प्रविधि मानिसलाई नियन्त्रण गर्ने साधन पनि बन्न सक्छ, मानवीय दुःख कम गर्ने साधन पनि। कृत्रिम बुद्धिमत्ताले असमानता बढाउन पनि सक्छ, ज्ञानको पहुँच विस्तार गर्न पनि सक्छ। विश्वविद्यालयको काम प्रविधिबाट भाग्नु होइन; प्रविधिलाई नैतिक विवेक दिनु हो। यही कारणले आधुनिक बौद्ध विश्वविद्यालयहरूले सूचना प्रविधि पनि पढाउँछन् भने त्यससँगै मानव उत्तरदायित्व र मानव मष्तिष्कको स्वाधीनता बारे प्रश्न पनि उठाउँछन्।
यही कुरा पर्यटन, वातावरण, विकास अध्ययन वा अन्तर्राष्ट्रिय सम्बन्धमा पनि लागू हुन्छ। यी विषयहरू बौद्ध विश्वविद्यालयका लागि बाहिरी विषय होइनन्। यदि लुम्बिनी विश्वशान्तिको प्रतीक हो भने पर्यटन केवल उद्योगको प्रश्न रहँदैन; सांस्कृतिक उत्तरदायित्वको प्रश्न बन्छ। यदि संसार जलवायु सङ्कटसँग जुधिरहेको छ भने वातावरण विज्ञान करुणाको आधुनिक भाषा बन्छ। यदि युद्ध र द्वन्द्वले मानवता आहत छ भने अन्तर्राष्ट्रिय सम्बन्ध केवल कूटनीतिक विषय होइन; सहअस्तित्वको अभ्यास पनि हो। बुद्धको दृष्टिले हेर्दा आधुनिक ज्ञानका धेरै विषयहरू नयाँ होइनन्; तिनले उठाएका प्रश्नहरू मात्र नयाँ हुन्।
त्यसैले विश्वका बौद्ध विश्वविद्यालयहरूको अनुभवले एउटा गम्भीर शिक्षा दिन्छ-परम्परा जोगाउने उपाय ज्ञानको ढोका बन्द गर्नु होइन; ज्ञानलाई सही दिशामा खोल्नु हो।विश्वविद्यालयले आफ्नो पहिचान विषयहरू घटाएर जोगाउँदैन; आफ्नो मूल्यलाई प्रत्येक विषयमा जीवित राखेर जोगाउँछ।
यही ठाउँमा इतिहास फेरि लुम्बिनीतर्फ फर्किन्छ।
किनभने प्रश्न अब थाइल्याण्ड, श्रीलङ्का, जापान वा अमेरिकाको छैन।
प्रश्न अब बुद्ध जन्मिएको भूमिको हो।
प्रश्न अब लुम्बिनी बौद्ध विश्वविद्यालयको हो।
के यसले पनि नालन्दाको परम्परालाई समयसँग संवाद गराउने साहस गर्नेछ?
वा, परम्परालाई जोगाउने नाममा समयसँग संवाद गर्ने ढोका आफैं बन्द गर्नेछ?
लुम्बिनी बौद्ध विश्वविद्यालयको सम्भावना
लुम्बिनीमा विश्वविद्यालय स्थापना गर्नु भनेको अर्को एउटा विश्वविद्यालय थप्नु मात्र थिएन। प्रथम विश्व बौद्ध सम्मेलनका सहभागीहरूको साझा प्रतिज्ञा थियो- जहाँ बुद्ध जन्मिए, त्यहीँबाट बुद्धको ज्ञान पनि नयाँ युगसँग संवाद गरोस्।बन्धुत्वको प्रवर्द्धनद्वारा विश्वशान्तिसम्म पुग्न सकियोस् । त्यसैले लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना कुनै प्रशासनिक परियोजना होइन; एउटा सभ्यतागत जिम्मेवारी हो।
यही कारणले यस विश्वविद्यालयलाई बुझ्दा भवन, सङ्काय वा पाठ्यक्रमभन्दा पहिले यसको स्थापना–दर्शन बुझ्नुपर्छ। यसको केन्द्रमा बुद्ध छन्, तर बुद्ध यहाँ इतिहासका पात्रका रूपमा होइन; ज्ञानलाई आलोडन गर्ने विधिका रूपमा उपस्थित छन्। बौद्ध दर्शन, साहित्य, संस्कृति रकला यसका मूल आधार हुन्। यी आधार कमजोर भए विश्वविद्यालयको सार नै कमजोर हुन्छ। त्यसैले बौद्ध अध्ययन यसको विकल्प होइन; यसको मेरुदण्ड हो।
तर मेरुदण्डले शरीरलाई उभ्याउँछ; शरीर मेरुदण्डमै सीमित रहँदैन।
सायद यही दूरदृष्टिका साथ विश्वविद्यालयको ऐन संशोधन गरी प्रस्तावनामा “अन्य विषय”थपिएको हुनुपर्छ। यो कुनै आकस्मिक शब्दप्रयोग नभएरविश्वविद्यालयलाई जीवित संस्थाका रूपमा बुझ्ने शैक्षिक मान्यता बन्न सक्छ। किनकि जीवित विश्वविद्यालय समयसँग संवाद गर्छ; समयसँग झगडा गर्दैन।
यसै दृष्टिबाट विश्वविद्यालयको सेवा संरचना तय भएको छ । बौद्ध अध्ययन र अन्य विषयको अध्ययनलाई पृथक् धारका रूपमा व्यवस्थित गरिएको छ। यसको अर्थ एउटाले अर्कोलाई विस्थापित गर्ने होइन। बरु एउटाले विश्वविद्यालयको पहिचान जोगाउनेछ, अर्कोले त्यस पहिचानलाई समकालीन समाजसँग जोड्नेछ। नदीका दुई किनाराजस्तै-दुवै आवश्यक, दुवै परिपूरक।
तर यहीं एउटा गम्भीर प्रश्न पनि उभिन्छ।
यदि विश्वविद्यालयले अन्य विषय सञ्चालन गर्न सक्छ भने के जुनसुकै विषय, जुनसुकै उद्देश्यका लागि सञ्चालन गर्न मिल्छ?
यही ठाउँमा बौद्ध विश्वविद्यालयको सार परीक्षणमा पर्छ।
विश्वविद्यालयको प्रश्न केवल "के पढाउने?" भन्ने होइन। अझ गहिरो प्रश्न "किन पढाउने?" भन्ने हो।
यदि व्यवस्थापन केवल नाफा बढाउने सीपमा सीमित भयो भने त्यो बौद्ध विश्वविद्यालयको विषय हुन सक्दैन। तर त्यही व्यवस्थापन सुशासन, सार्वजनिक उत्तरदायित्व, नैतिक नेतृत्व र सामाजिक न्यायको साधन बन्छ भने त्यसले बुद्धको शिक्षासँग संवाद गर्न थाल्छ।
यदि सूचना प्रविधि मानिसलाई उपभोगको वस्तु बनाउने प्रविधि भयो भने त्यो बौद्ध शिक्षाको विस्तार होइन। तर त्यही प्रविधिले शिक्षा दुर्गम गाउँसम्म पुर्यानउँछ, अनुसन्धानलाई सबल बनाउँछ, अपाङ्गता भएका विद्यार्थीका लागि नयाँ सम्भावना खोल्छ, ज्ञानलाई केही मानिसको विशेषाधिकारबाट मुक्त गर्छ भने त्यो करुणाको आधुनिक भाषा बन्न सक्छ।
यदि पर्यटन केवल होटल र व्यापारको गणितमा सीमित रह्यो भने त्यसले लुम्बिनीलाई पनि वस्तु बनाइदिन्छ। तर यदि त्यसले स्थानीय समुदायको जीवनस्तर उकास्छ, सांस्कृतिक सम्पदाको संरक्षण गर्छ, विश्वशान्तिको सन्देशलाई व्यवहारसँग जोड्छ भने त्यो पनि बुद्धको दृष्टिले पढिने विषय हो।
यही कसौटी शिक्षाशास्त्रमा लागू हुन्छ। यही कसौटी विकास अध्ययनमा लागू हुन्छ। यही कसौटी वातावरण विज्ञानमा लागू हुन्छ। विषयको नाम निर्णायक होइन; त्यसको नैतिक दिशा निर्णायक हो।
आज संसारका धेरै विश्वविद्यालयहरू बजारको भाषामा बोल्न थालेका छन्। शिक्षा सेवाभन्दा उत्पादन, विद्यार्थी जिज्ञासुभन्दा ग्राहक, र विश्वविद्यालय ज्ञानकेन्द्रभन्दा प्रतिस्पर्धी कम्पनीजस्तो देखिन थालेको छ। यस्तो समयमा बौद्ध विश्वविद्यालयले सबैभन्दा बढी जोगाउनुपर्ने कुरा आफ्नो सार हो। यसले उद्योगसँग सहकार्य गर्न सक्छ, रोजगारीमुखी कार्यक्रम सञ्चालन गर्न सक्छ, प्रविधिलाई अँगाल्न सक्छ; तर आफ्नो शैक्षिक दर्शनलाई बजारको मूल्यसूचीमा बेच्न सक्दैन।
यहाँ अर्को सावधानी पनि आवश्यक छ। "अन्य विषय" को नाममा विश्वविद्यालय सम्पन्न वर्गका लागि अर्को अवसर उत्पादन गर्ने केन्द्रमा रूपान्तरित हुनु हुँदैन। नयाँ कार्यक्रमहरूको सफलता त्यसबाट उठ्ने आम्दानीले होइन, त्यसबाट खुल्ने अवसरले मापन हुनुपर्छ। किसानका छोराछोरी, श्रमिकका सन्तान, भिक्षु–भिक्षुणी, पहिलो पुस्ताका विश्वविद्यालय विद्यार्थी, लुम्बिनी वरपरका गाउँका युवायुवती र अवसरबाट वञ्चित समुदायका लागि यदि विश्वविद्यालयले नयाँ सम्भावना निर्माण गर्छ भने मात्र त्यसले आफ्नो ऐतिहासिक दायित्व पूरा गरेको ठहरिनेछ।बहुजन हिताय, बहुजन सुखायकेवल धार्मिक उद्घोष होइन; विश्वविद्यालयको शैक्षिक नीतिको पनि आधार बन्नुपर्छ।
यसैले आजको बहसलाई "अन्य विषय राख्ने कि नराख्ने?" भन्ने साँघुरो घेराभित्र सीमित गर्नु पर्याप्त छैन। वास्तविक प्रश्न त यो हो-लुम्बिनी बौद्ध विश्वविद्यालयले आधुनिक ज्ञानलाई बुद्धको दृष्टिले रूपान्तरण गर्ने साहस गर्छ कि गर्दैन?
यदि गर्छ भने विश्वविद्यालयले आफ्ना मूल विषयहरूलाई अझ सुदृढ बनाउँदै नयाँ ज्ञानक्षेत्रसँग संवाद गर्नुपर्छ। यदि गर्दैन भने बौद्ध अध्ययन जोगाउने नाममा उसले आफूलाई समयबाट अलग पार्ने जोखिम मोल्नेछ। इतिहासले देखाएको बाटो पहिलो हो। भविष्यको दायित्व पनि त्यही हो।
बुद्ध मात्र पढाउने कि बुद्धको दृष्टिले संसार पढाउने?
कुनै पनि विश्वविद्यालयको महानता उसले कति विषय पढायो भन्ने कुराले मापन हुँदैन। उसले कस्ता मानिस निर्माण गर्योव भन्ने कुराले मापन हुन्छ। किनकि विश्वविद्यालयको अन्तिम उत्पादन प्रमाणपत्र होइन, चेतना हो; जागिर होइन, जिम्मेवारी हो; दक्षता मात्र होइन, विवेक पनि हो।
बुद्धले आफ्ना शिष्यलाई संसारबाट भाग्न सिकाएनन्; संसारलाई बुझ्न सिकाए। उनले दुःख देखे, त्यसको कारण खोजे, समाधानको सम्भावना देखाए र त्यसतर्फ हिँड्ने मार्ग देखाए। यही त अनुसन्धानको पनि आधार हो। यही त विश्वविद्यालयको पनि आधार हो। त्यसैले बौद्ध विश्वविद्यालयको काम बुद्धका वचन दोहोर्याउनु मात्र होइन; बुद्धले देखाएको प्रश्न गर्ने साहस, परीक्षण गर्ने संस्कार र करुणापूर्ण विवेकलाई प्रत्येक ज्ञानक्षेत्रमा जीवित राख्नु हो।
यसैले आजको बहसलाई "अन्य विषय राख्ने कि नराख्ने?" भन्ने साँघुरो घेराभित्र कैद गर्नु बुद्धको परम्परालाई पनि सानो बनाउनु हो। प्रश्न व्यवस्थापनको होइन, व्यवस्थापनको उद्देश्यको हो। प्रश्न सूचना प्रविधिको होइन, त्यसको नैतिक प्रयोगको हो। प्रश्न पर्यटनको होइन, त्यसले स्थानीय समुदाय, सांस्कृतिक सम्पदा र मानवताको सेवा गर्छ कि गर्दैन भन्ने हो। प्रश्न कुनै विषयको नाम होइन; विषयलाई निर्देशित गर्ने दृष्टिको हो।
तर यहाँ अर्को चेतावनी पनि उत्तिकै आवश्यक छ। बौद्ध विश्वविद्यालयले आधुनिक विषयहरू सञ्चालन गर्नु भनेको बजारको प्रतिस्पर्धामा होमिनु होइन। शिक्षा नाफाको उद्योग बनेपछि विश्वविद्यालयहरू ग्राहक खोज्न थाल्छन्, नागरिक होइन। त्यहाँ ज्ञानभन्दा ब्रान्ड बलियो हुन्छ, चरित्रभन्दा रोजगारीको तथ्याङ्क। बौद्ध विश्वविद्यालयले यही बाटो रोज्यो भने उसले बुद्धको नाम त जोगाउला, बुद्धको सार भने गुमाउनेछ।
त्यसैले "अन्य विषय" को अर्थ "जुनसुकै विषय" होइन। बौद्ध विश्वविद्यालयले खोल्ने प्रत्येक नयाँ कार्यक्रमले एउटा नैतिक प्रश्नको उत्तर दिन सक्नुपर्छ- यसले बहुजनको जीवनमा के परिवर्तन ल्याउँछ? यदि त्यसले केवल सम्पन्न वर्गका लागि नयाँ अवसर सिर्जना गर्छ, केही व्यापारिक स्वार्थलाई दक्ष जनशक्ति उपलब्ध गराउँछ वा शिक्षा आफैंलाई बजारको वस्तुमा रूपान्तरण गर्छ भने त्यस्तो विस्तारलाई बौद्ध शिक्षाको विजय भन्न सकिँदैन। तर यदि त्यही कार्यक्रमले किसानका छोराछोरी, श्रमिकका सन्तान, लुम्बिनीका गाउँका युवायुवती, भिक्षु–भिक्षुणी, सीमान्तकृत समुदाय र पहिलो पुस्ताका विश्वविद्यालय विद्यार्थीलाई सम्मानपूर्वक उभिने ज्ञान, सीप र आत्मविश्वास दिन्छ भने त्योबहुजन हिताय, बहुजन सुखायको समकालीन रूप हुनेछ।
लुम्बिनी बौद्ध विश्वविद्यालयले त्यसैले दुईवटा अतिवादबाट आफूलाई जोगाउनुपर्छ। एउटा, परम्पराको नाममा समयसँग संवाद गर्न नमान्ने जडता। अर्को, आधुनिकताको नाममा आफ्नै सार बेच्ने उत्ताउलो पन। बुद्धले यी दुवैको विकल्पमा मध्यम मार्ग देखाएका थिए। यही मध्यम मार्ग विश्वविद्यालयको पनि मार्ग हुन सक्छ- जहाँ बौद्ध अध्ययन केन्द्रमा रहन्छ, तर केन्द्रबाट निस्कने प्रकाश आधुनिक ज्ञानका सबै दिशामा फैलिन्छ।
सायद अब मूल प्रश्न फेरि दोहोर्याउने बेला आएको छ। बौद्ध विश्वविद्यालयले बुद्ध मात्र पढाउने कि बुद्धको दृष्टिले संसार पढाउने?
अन्ततः विश्वविद्यालयको सार पाठ्यक्रममा बस्दैन; त्यसले निर्माण गर्ने मानिसमा बस्छ। यदि लुम्बिनी बौद्ध विश्वविद्यालयबाट निस्कने विद्यार्थी दक्ष मात्र होइन, नैतिक पनि भए; सफल मात्र होइन, संवेदनशील पनि भए; प्रतिस्पर्धी मात्र होइन, करुणावान् पनि भए भने विश्वविद्यालयले आफ्नो दायित्व पूरा गरेको मानिनेछ। त्यसपछि उसले व्यवस्थापन पढाओस् वा चिकित्सा, सूचना प्रविधि पढाओस् वा शिक्षाशास्त्र-प्रत्येक विषय बुद्धको दृष्टिले उज्यालिएको हुनेछ।
त्यस दिन लुम्बिनीमा अर्को विश्वविद्यालय मात्र हुनेछैन। त्यहाँ एउटा यस्तो विश्वविद्यालय हुनेछ, जसले बुद्धलाई इतिहासको स्मारकमा होइन, भविष्यको चेतनामा जीवित राख्नेछ। र सायद त्यही दिन हामी निश्चिन्त भएर भन्न सक्नेछौँ-बौद्ध विश्वविद्यालयले बुद्ध मात्र पढाएको छैन; बुद्धको दृष्टिले संसार पढाएको छ।
लेखकसँग सम्पर्कका लागि: dayanidhi.gautam@lbu.edu.np
प्रकाशित: ३१ असार २०८३ १५:०१ बुधबार

