२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
राजनीति

पार्टीका झन्डा जलाउने गतिविधि निन्दनीय, तत्काल बन्द गरिनुपर्छ : नेपाली कांग्रेस

नेपाली कांग्रेसले पार्टीका झन्डा जलाउने गतिविधि निन्दनीय भनेको छ। पार्टी प्रवक्ता देवराज चालिसेले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन्।

‘निर्वाचन शान्तिपूर्ण, भयमुक्त, निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न गर्नु सरकारको पहिलो प्राथमिकता हो, हामी अनुरोध गर्न चाहन्छौँ, जनता जनताबिचको सामाजिक सद्भाव, धार्मिक सहिष्णुतामा असर पुर्‍याउने काम कतैबाट हुन नदिऔँ। सामाजिक विद्वेष फैलाउने, घृणायुक्त अभिव्यक्ति गर्ने पनि पार्टीबाट हुनै हुँदैन, कसैको पनि आस्थामा चोट पुर्‍याउने अभिव्यक्ति, व्यक्तिगत निन्दा र पार्टीका झन्डा जलाउने गतिविधिलाई नेपाली कांग्रेस निन्दनीय कार्य हो भन्ने ठान्दछ र यस्ता गतिविधि तत्काल बन्द गरिनुपर्छ,’ उनले भने।

सो अवसरमा प्रवक्ता चालिसेले सार्वभौम जनताको जनादेश शासनको वैधताको आधार हो र यो चुनावद्वारा परिलक्षित हुन्छ भन्ने विषयलाई कांग्रेसले गहिरोसँग आत्मसात् गरेको बताए। नेपाली कांग्रेसले दशकौंदेखि मुलुकले भोगेको राजनीतिक सङ्क्रमण, आर्थिक विषमता र जनताको आकांक्षाअनुसार काम नभएको यथार्थलाई कांग्रेसले उच्च जिम्मेवारी बोधका साथ आत्मसात् गर्दै अब सुशासन र सुधार्ने अठोटका साथ वर्तमान निर्वाचनलाई जनमतको परीक्षाका रूपमा स्वीकारेको उनको भनाइ थियो। 

‘लोकतन्त्रको सबैभन्दा शक्तिशाली संवाहक प्रेसका सम्मानित प्रतिनिधिहरूबाट आलोचनात्मक समीक्षा खोजेका छौँ, लोकतान्त्रिक आन्दोलनका आदिपुरुष बिपी कोइरालाले भनेझैँ पत्रकारबाट आलोचना भएन भने हामी दुःखी हुन्छौँ, प्रेसले प्राण मान्ने अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आत्मा हो र, कांग्रेस चाहिँ लोकतन्त्रको सेवक र संवाहक भएको नाताले सधैँ प्रेस स्वतन्त्रताको पक्षपोषण र पैरवी गर्ने पार्टीका रूपमा स्थापित छ,’ उनले भने।

प्रवक्ता चालिसेले लोकतन्त्र एवम् आमजनताको स्वतन्त्रता र समृद्धिसँग अविच्छिन्न जोडिएको नेपाली कांग्रेसले चुनावी अभियानलाई सशक्तताका साथ अगाडि बढाइरहेको जानकारी गराउँदै लोकतन्त्रको स्थापना, संवर्धन तथा दिगो भविष्यतर्फ लोककल्याणकारी शासन व्यवस्थालाई सुदृढीकरण गर्न वर्तमान परिस्थितिमा भइरहेको निर्वाचन तथा यससँग जोडिएका अवसर र चुनौतीलाई अत्यन्त संवेदनशील भएर हेरेको बताए।

बदलिएको कांग्रेसलाई चिन्तनशील बुद्धिजीवी, पेसाकर्मी र आम गरिखाने वर्गले हार्दिक स्वागत गरेको अवस्था छ भन्दै प्रवक्ता चालिसेले अतिलोकप्रियतावादी उन्माद र प्रतिगामी भड्कावबिच मध्यमार्गी एवं सन्तुलित चरित्रको वैज्ञानिक पद्धति तथा व्यावहारिक उन्नति सुनिश्चित गर्न सम्पूर्ण सचेत वर्गले थप मिहिनेत गर्नुपर्ने चुनौती रहेकामा जोड दिए। उनले निर्वाचनलाई भयमुक्त र सद्भावपूर्ण वातावरणमा हुन नदिने सामाजिक सञ्जालदेखि विभिन्न माध्यमको प्रयोग गरी कांग्रेस उम्मेदवारहरूलाई अपमान तथा दुरुत्साहित गर्ने प्रयास भइरहेको भन्दै कांग्रेसले भयको राजनीति नगर्ने र गर्न पनि नदिने बताए। इतिहासमा अनेक सङ्घर्षको कसौटीमा उभिएको कांग्रेस अवसरवादी सङ्क्रमणका चुनौतीलाई सहजतापूर्वक सामना गर्न सक्षम छ रहेको उनको भनाइ थियो।

‘कांग्रेसका सम्पूर्ण नेता एवं पार्टी सदस्यहरू, शुभचिन्तक र मतदातालाई कुनै भ्रम र विचलनमा नपरी दृढ भएर प्रचारप्रसारमा लाग्न आग्रह गर्दछौँ। साथै मतदातालाई बदलिएको कांग्रेसलाई जिताएर मुलुकको मुहार फेर्ने अभियानको प्रत्यक्ष हिस्सा बन्न पनि आग्रह गर्दछौँ,’ प्रवक्ता चालिसेले भने। रासस

प्रकाशित: ११ फाल्गुन २०८२ ०८:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App