नेकपा (एमाले) ले पार्टीको निर्वाचन समीक्षा तथा पुनर्गठन प्रक्रियालाई अगाडि बढाउँदै कार्यदलको मस्यौदा प्रतिवेदन तयार गर्ने जिम्मेवारी कार्यदलका संयोजक तथा उपाध्यक्ष रामबहादुर थापा र सदस्य–सचिव तथा महासचिव शंकर पोखरेललाई दिएको छ।
फागुन २१ गते सम्पन्न निर्वाचनको समीक्षा तथा पार्टी पुनर्गठनका लागि गठित कार्यदलको बैठकपछि महासचिव शंकर पोखरेलले निर्णय सार्वजनिक गर्दै पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा अझ सुदृढ, एकताबद्ध तथा प्रभावकारी बनाउने उद्देश्यका साथ पुनर्गठनको कार्ययोजना तयार गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिए।
बैठकले देशका १३ वटा स्थानमा सञ्चालन गरिएको सुझाव सङ्कलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकाल्दै त्यहाँबाट प्राप्त सुझावलाई समेटेर विस्तृत प्रतिवेदन तयार गरिने जनाएको छ।
सुझाव सङ्कलन कार्यक्रमको सफल व्यवस्थापन गर्ने सम्बन्धित कमिटी तथा कार्यक्रममा सहभागी भई रचनात्मक सुझाव दिने नेता–कार्यकर्ताप्रति बैठकले धन्यवाद ज्ञापन गरेको छ।
यसैबीच, सुझाव सङ्कलन कार्यक्रमकै क्रममा पार्टीका उपाध्यक्ष तथा कार्यदलका सदस्य विष्णु पौडेललाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको दाबी गर्दै बैठकले उक्त घटनाको घोर निन्दा र भर्त्सना गरेको छ। साथै, पौडेलको तत्काल रिहाइको माग पनि बैठकले गरेको छ।
बैठकको निर्णयअनुसार तयार गरिने मस्यौदा प्रतिवेदनमा देशभरबाट प्राप्त सुझाव, निर्वाचनको समग्र समीक्षा तथा पार्टी पुनर्गठनका लागि आवश्यक वैचारिक, राजनीतिक र संगठनात्मक कार्ययोजना समावेश गरिनेछ।
एमालेले उक्त प्रतिवेदनलाई आधार बनाएर पार्टी पुनर्गठन अभियानलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउने तयारी गरेको जनाएको छ।
प्रकाशित: २५ असार २०८३ २१:४२ बिहीबार





