ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले तीज पर्वले आपसी भाइचाराको सम्बन्ध कायम गरेको बताएका छन्।
सङ्खुवासभा–काठमाडौं जर्नालिष्ट एसोसिएसन (एसकाज) ले तीज पर्वका अवसरमा आज यहाँ आयोजना गरेको ‘सामूहिक तीज कार्यक्रम’ मा उनले तीज पर्वले आपसी भाइचाराको सम्बन्ध कायम गर्दै लगेको बताए।
मन्त्री खड्काले विगतमा हिन्दू महिलाको चाडका रूपमा मात्र लिने तीज पर्व पछिल्लो समय सबैको साझा पर्वका रूपमा विकास हुँदै गएको बताए। मानसिक र शारीरिक थकान मेटाउने माध्यम तीज पर्व हुँदै गएको उनको भनाइ थियो।
मन्त्री खड्काले प्राकृतिक, धार्मिक र सांस्कृतिक रूपले धनी सङ्खुवासभाको विकासका लागि काठमाडौंमा रहेर पत्रकारिता पेसामा सक्रिय सञ्चारकर्मीले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गरे।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता राजेन्द्र गौतमले महिला सशक्तीकरणमा तीज पर्वले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए।
समयको परिवर्तनसँगै तीज व्यावसायिक हुँदै गएको उनको भनाइ थियो।
कार्यक्रममा कोशी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री राजेन्द्र कार्की, कांग्रेस नेत्री विनिता थापा खड्का, एसोसिएसनका अध्यक्ष शङ्कर खनालले आफ्नो धारणा राखे।
प्रकाशित: ८ भाद्र २०८२ १७:४६ आइतबार





