१६ भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

उद्धारमा भारत, चीन र कोरियाको प्राविधिक टोली परिचालन : परराष्ट्र मन्त्रालय

भदौ १० गते रसुवामा आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार, टनेल उद्धार र शव पहिचानका लागि भारत, चीन र दक्षिण कोरियाबाट अन्तर्राष्ट्रिय प्राविधिक सहयोग प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मंगलबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले मित्रराष्ट्रबाट आएका प्राविधिक टोली नेपाली सुरक्षाकर्मीसँग समन्वय गरी उद्धार तथा शव पहिचानमा परिचालित भएको बताए। 

उनका अनुसार भारतबाट आएको २४ सदस्यीय टनेल उद्धार टोली नेपाली सेनासँगको समन्वयमा चिलिमे र लाङटाङ जलविद्युत् आयोजना क्षेत्रमा परिचालन गरिएको छ। चीनबाट आएको ९ सदस्यीय टनेल उद्धार टोली माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा खटिएको छ। 

साथै दक्षिण कोरियाबाट पनि उद्धार टोली नेपाल आइपुगेको प्रवक्ता पौडेलले जानकारी दिए। उक्त टोलीलाई बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा परिचालन गरिएको उनले बताए।

शव पहिचानमा डीएनए विज्ञको सहयोग : 

बाढीमा परी मृत्यु भएकाहरूको शव पहिचानका लागि पनि अन्तर्राष्ट्रिय प्राविधिक सहयोग प्राप्त भइरहेको मन्त्रालयले जनाएको छ। भारतबाट आएको १९ सदस्यीय डीएनए विश्लेषण विज्ञ टोली गत अगस्ट २९ देखि कार्यक्षेत्रमा खटिएको प्रवक्ता पौडेलले बताए। 

चीनबाट चार सदस्यीय फरेन्सिक टोली ल्याउने तयारी भइरहेको तथा सिंगापुरबाट विपद् पीडित पहिचान टोली ल्याउन आवश्यक समन्वय भइरहेको उनले जानकारी दिए। 

तत्काल पहिचान गर्न नसकिने शवको डीएनए नमुनालगायत आवश्यक प्रमाण सुरक्षित राखेर अन्तर्राष्ट्रिय मापदण्डअनुसार अस्थायी रूपमा गाड्ने गरिएको मन्त्रालयले जनाएको छ। पछि पहिचान खुलेपछि परिवारजनलाई शव हस्तान्तरण गर्न सकिने गरी प्रक्रिया अघि बढाइएको मन्त्रालयको भनाइ छ। 

बेपत्ता व्यक्तिका निकटत सदस्यलाई नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले आग्रह गरेको छ। विदेशमा रहेका परिवारका सदस्यले सम्बन्धित देशमै डीएनए प्रोफाइल तयार गराई नेपाल प्रहरीको आधिकारिक माध्यममार्फत पठाउन सक्ने व्यवस्था गरिएको पनि मन्त्रालयले जनाएको छ।

प्रकाशित: १६ भाद्र २०८३ १६:३२ मंगलबार