सरकारले आगामी आर्थिक वर्षको बजेट नयाँ संसद् भवनको हलबाट प्रस्तुत गर्ने सम्भावना टरेको छ। आवश्यक प्राविधिक तयारी समयमै पूरा हुन नसकेपछि बजेट भाषण पुरानै अस्थायी हलबाट हुने भएको संघीय संसद् सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीले जानकारी दिए।
गिरीका अनुसार नयाँ हल सञ्चालनका लागि आवश्यक प्राविधिक काम अझै सम्पन्न भइसकेको छैन। त्यसैले संयुक्त सदनको बैठक नयाँ भवनमा सार्ने योजना तत्कालका लागि सम्भव नभएको उनले बताए।
‘काम अन्तिम चरणमा पुगे पनि आवश्यक सबै प्राविधिक तयारी पूरा हुन सकेन,’ गिरीले भने, ‘एक-दुई दिन अघि नै सबैकुराको परीक्षण गर्न पर्ने हुन्छ। यस अवस्थामा नयाँ हलबाट बजेट प्रस्तुत गर्ने अवस्था बनेन।’
यससँगै प्रतिनिधिसभाको बैठक चलिरहेको अस्थायी व्यवस्थापनमै बजेट प्रस्तुत गरिने तयारी गरिएको छ।
सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवन निर्धारित समयमै सम्पन्न हुन नसक्दा संसद्का नियमित गतिविधि अझै कामचलाउ संरचनाबाट सञ्चालन हुँदै आएका छन्।
प्रकाशित: १४ जेष्ठ २०८३ १३:४० बिहीबार





