पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी विभिन्न सङ्घसंस्थाले बनाएका अनधिकृत भवनमा महानगरले आज डोजर चलाएको छ।
हङ्कङ बजारको पूर्वपट्टी रहेका नेपाल ट्रेड युनियन कांग्रेस, जिफन्ड गण्डकी, सामुदायिक प्रहरी, सहारा क्लब, हिमाली सांस्कृतिक परिवारको भवन, सार्वजनिक शौचालयलगायतका संरचना हटाउन सुरु गरिएको हो।
सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा दुईवटा डोजर प्रयोग गरेर संरचना हटाउन थालिएको हो। महानगरले संरचना हटाउने पूर्वसूचना गरेपछि सङ्घसंस्था र व्यवसायीले भवन तथा सटर आफैँ खाली गरेका थिए।
महानगर प्रमुख धनराज आचार्यले अतिक्रमित संरचना हटाएर दुई लेनको सडक निर्माण गरिने बताए। उक्त सडक निर्माणपछि पृथ्वीचोकको ट्राफिक व्यवस्थापन सहज हुने उनको भनाइ छ।
पोखरा उपत्यकता नगरविकास समितिको जग्गा अतिक्रमण गरेर विभिन्न सङ्घसंस्थाले भवन बनाइ सटर भाडामा लगाउँदै आएका थिए। महानगरपालिकाले आयोजना गरेको सर्वदलीय/सर्वपक्षीय छलफलपछि राजनीतिक दलका भातृसंस्थालगायतले भवन खाली गर्न राजी भएका थिए।
महानगर र उपत्यका नगरविकास समितिले गत वैशाख पहिलो साता सूचना जारी गरी अतिक्रमित संरचना खाली गराउन निर्देशन दिएको थियो।
उक्त सूचनाको म्याद सकिएपछि बिहीबारदेखि महानगरले संरचना हटाउन सुरु गरेको हो।
प्रकाशित: १४ जेष्ठ २०८३ १६:०८ बिहीबार


-600x400.jpg)


