भदौ २३ र २४ गतेको घटनापछि बहुसंख्यक जेन–जीले प्रधानमन्त्रीमा सुशीला कार्कीलाई अघि सारे। लामो रस्साकस्सीपछि राष्ट्रपति रामचन्द्र पौडेल कार्कीलाई अन्तरिम सरकारको कमान सुम्पिन तयार भएका थिए।
तर, उनी ‘संवैधानिक मार्ग’को खोजेमा थिए। सँगै मुख्य राजनीतिक दलको सहमति पनि जुटाउन चाहन्थे। त्यसका लागि राष्ट्रपति पौडेलले कार्कीसँग प्रस्ताव राखे–प्रमुख दलका शीर्ष नेतासँग पनि छलफल गरौँ। त्यसले पछि सरकारलाई काम गर्न सहज हुन्छ। राष्ट्रपतिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संवादको प्रस्ताव राखेका थिए। यद्यपि कांग्रेस सभापति देउवा घाइते भएर अस्पतालमा उपचाररत थिए।
राष्ट्रपति पौडेलको प्रस्ताव कार्कीले ठाडै अस्वीकार गरिन–म तिनीहरूको अनुहार पनि हेर्दिनँ। त्यसपछि कार्की प्रधानमन्त्री नियुक्त हुँदा दलसँग कुनै किसिमको दोहोरो संवाद भएन।
तैपनि राष्ट्रपति पौडेलले आफ्नो किसिमले दल र नेताहरूसँग आवश्यक छलफल भने गरेका थिए। जसमा प्रधानमन्त्री कार्की सहभागी थिइनन्।
प्रधानमन्त्री नियुक्त भएपछि पनि कार्कीले लामो समय सोही रवैया देखाइरहिन्। कतिसम्म भने एमाले अध्यक्ष ओलीलाई त पक्राउ गरेरै छाड्ने जुक्ति पनि जुटाउन लागिरहिन्।
‘मुखै नहेर्ने’ प्रधानमन्त्री कार्कीको बयानबाजी सञ्चारमाध्यममा पनि आउन थाल्यो। जसको प्रचण्डले सार्वजनिक मञ्चमै उभिएर चित्त दुखाइ व्यक्त समेत गरे। कात्तिक १९ गते नेपाली कम्युनिस्ट पार्टीको एकता सभामा बोल्दै उनले आफूले कार्कीलाई प्रधानमन्त्री बनाउन र सरकारलाई सफल बनाउन सहयोग गर्दागर्दै पनि मुखै हेर्दिनँ भन्दा चित्त दुखेको बताएका थिए।
सुशीलाले मुख हेर्दिनँ भन्दा प्रचण्डको चित्त दुखाई: मन चसक्क बिझेको छ | Nagarik News
‘अझ उल्टो फलाना फलाना नेतालाई त म हेर्नै मन लागेको छैन भन्नुभयो रे। भन्दाखेरि चसक्क बिझेको त छ,’ प्रचण्डले भनेका थिए।
समय क्रम बित्दै जाँदा प्रमुख दलका तीन शीर्ष नेताको ‘मुखै नहेर्ने’ भन्ने प्रधानमन्त्री कार्की र उनी नेतृत्वको सरकार अहिले दिनहुँ उनै ओली, देउवा र प्रचण्डसमक्ष हारगुहार लगाइरहेको छ। निर्वाचनको वातावरण नबन्दा सरकारको औचित्यमै प्रश्न चिन्ह उठ्न थालेपछि सरकार रक्षात्मक अवस्थामा पुग्दा उनै नेता फकाउन दौडधुप खेप्नुपरिरहेको छ।
राष्ट्रपतिले जोडेको मेसो
सुरुमा राष्ट्रपति पौडेलले नै राजनीतिक दलसँगको संवादको प्रस्ताव राख्दा ठाडै ‘मुखै हेर्दिनँ’ भनेर जवाफ फर्काएकी प्रधानमन्त्री कार्कीका लागि पछिल्लो समय दलसँग संवादको ढोका उनै राष्ट्रपतिले खोलिदिनुप¥यो।
राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष दलका नेताबिच झण्डै ३ घण्टा छलफल | Nagarik News
यसै साताको मंगलबार(पुस ८ गते) राष्ट्रपतिले प्रमुख तीन दल शीर्ष नेता देउवा, ओली र प्रचण्डलाई शीतल निवास डाँके। सोही बैठकमा प्रधानमन्त्री कार्कीलाई पनि बोलाएर पहिलो पटक तीन नेतासँग संवाद गराए।

त्यसअघि सोही दिन बिहान सरकारका सञ्चार मन्त्री जगदीश खरेल, कानुन मन्त्री अनिल सिन्हा र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल प्रमुख पार्टीका कार्यालय निरीक्षणमा पुगेका थिए। जहाँ भदौ २४ को विध्वंसमा जलेका पार्टी कार्यालयको निरीक्षण गर्न साढे तीन महिनापछि सरकार पुगेको थियो।
यस्तै शुक्रबार(पुस ११) गते मात्रै सञ्चार मन्त्री खरेल देउवा, ओली र दाहालकै निवास पुगेर भेटवार्ता गरेका थिए। जहाँ पनि प्रधानमन्त्री कार्कीको सन्देश लिएर सरकारका तर्फबाट आधिकारिक रूपमा मन्त्री नै पहिलो पटक पुगेका थिए।
यस्तै शनिवार प्रधानमन्त्री कार्कीले तीनै नेतालाई बालुवाटार डाँकेर छलफल गरिन। यी सबै भेटमा प्रधानमन्त्री कार्की र सरकारका मन्त्रीहरूले आफू नितान्त चुनाव गर्न आएको बताउँदै सहयोग गर्न आग्रह गरेका थिए।
शनिवारको बैठकमा प्रधानमन्त्री कार्कीले बालुवाटारको प्रधानमन्त्री निवास दलकै नेताका लागि भएको बताउँदै आफू अहिले विशेष परिस्थितिमा मात्रै आएको भन्दै फकाउन खोजेकी थिइन।
दलका नेताहरूले भने लगातार आफूहरू चुनावका लागि तयार रहेको बताउँदै सरकारले वातावरण बनाउन नसकेको भन्दै आएका छन्। ‘चुनावका लागि कांग्रेस लगायत सबै दल तयार छौँ। तर वातावरण बनेको छैन, सरकारले बनाओस्,’ शनिवार प्रधानमन्त्री कार्कीसँगको बैठकपछि बाहिरिँदै कांग्रेस सभापति देउवाले भने। ‘एमाले नि?’ भन्ने पत्रकारको प्रश्नमा देउवाले ठाडै भने,‘एमाले पनि चुनावमा जान्छ, नगएर के गर्छ?’
चौतर्फी दबाबमा सरकार
जेन–जी आन्दोलनकै जगमा बनेको कार्की सरकारले सुरुदेखि नै पुराना दलप्रति वक्रदृष्टि नै राख्दै आएको थियो। यसर्थ सबै दल सरकारसँग सन्तुष्ट थिएनन्। तर, एमालेबाहेक अन्य दलले सरकारविरुद्ध मुखै भने खोलेका थिएनन्।
यद्यपि सरकारको मूल काम नै चुनाव गराउने भए पनि चुनावी वातावरण बनाउन नसकेको भन्दै दबाब भने सबैजसो दल दिँदै आएका थिए।
पछिल्लो समय कतिपय जेन–जी समूह नै प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल लगायत विरुद्ध आक्रोशको भाषा बोलिरहेका छन्।
जसको प्रधानमन्त्री कार्कीले बिहीबारको एक सार्वजनिक कार्यक्रममै गुनासो पोखिन्। आफू अहिले दल र जेन–जी समूहको चपेटामा परेर अचानो जस्तै अवस्थामा पुगेको भन्दै दिक्दारी पोखिन्। ‘राजनीतिक दलले पनि गाली गर्छ, मारले गाली गर्छ। अहिले छोड्, भोलि छोड् भन्छ,’ उनले भनिन्, ‘जेन–जीले पनि आजै छोड्, भोलि छोड्, पर्सि छोड् भन्छन्।’
प्रधानमन्त्रीको दिग्दारीः जेन-जीले आजै छाड्, भोलि छाड् भन्छन्, पेन्डुलम जस्तै भइयो | Nagarik News
छोडिदिए पनि आफूलाई नै सबैले गाली गर्ने भय उनले सुनाएकी थिइन्। ‘छोडौँ भने के छोडौँ, छोडेको भोलिपल्ट, थुक्क, पालो त दिएको थियो नि तिमीहरूलाई एउटा, तिमीहरूको औकात त छोडेर हिँड्ने न रहेछ, के गर्याैँ भन्ने भाष्य आउँछ,’ प्रधानमन्त्री कार्कीले आफ्नो अनुभव सुनाइन्। अहिले आएर मुलुक बाङ्लादेश नहोस् भन्ने चिन्तामा रहेको उनले बताएकी थिइन्।
चुनावी बाध्यता
जेन–जीको आँधीको बलमा बनेको सरकारकी प्रधानमन्त्री कार्कीमा सुरुमा आफैँमा अर्कै ऊर्जा देखिएको जानकार स्रोत बताउँछ। आन्दोलनकै बेला उनले दिएका अभिव्यक्ति पनि निकै आक्रोशित सुनिन्छन्। जसका टेपहरू सञ्चारमाध्यममा भाइरल नै छन्।
सरकारकै कमानमा पुग्दा भने कार्कीलाई बिस्तारै जिम्मेवारी र मुलुकको अस्थिर अवस्थाको बोझले थिचिँदै गएको अनुभूति हुन थाल्यो। पछिल्ला केही सातायता उनी दबाबबाट उन्मुक्ति खोजिरहेको स्रोत बताउँछ।
त्यसका लागि सरकारको मुख्य दायित्व रहेको चुनाव गरेर बाहिरिन चाहिन्छन्। त्यही चुनावको वातावरण बनाउन दलका मुख्य नेतासँग संवादका माध्यमबाट विश्वासको वातावरण आर्जन गर्ने प्रधानमन्त्रीको चाहना देखिन्छ।
सोही कारण कार्की आफ्नै पूर्व अभिव्यक्तिलाई बिर्सेर ठुला दलका शीर्ष नेताको अनुहार हेर्ने मात्र होइन, उनीहरूसँगै सल्लाह–सुझाव लिएर काम गर्ने अवस्थामा पुगेको देखिएको छ।
प्रकाशित: १२ पुस २०८२ २१:०४ शनिबार





