जेन–जी आन्दोलनको जगमा बनेको सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले अहिले जेन–जीले नै आफूलाई सरकार छाड्न दबाब दिइरहेको स्वीकार गरेकी छन्। बिहीबार बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहमा बोल्दै प्रधानमन्त्री कार्कीले यस्तो दुखेसो पोखेकी हुन्।
अहिले आएर आफूहरू अचानो जस्तै अवस्थामा पुगेको भन्दै प्रधानमन्त्री कार्कीले दिग्दारी पोखिन्। ‘राजनीतिक दलले पनि गाली गर्छ, मारले गाली गर्छ। अहिले छोड्, भोलि छोड् भन्छ,’ उनले भनिन्, ‘जेन–जीले पनि आजै छोड्, भोलि छोड्, पर्सि छोड् भन्छन्।’
छोडिदिए पनि आफूलाई नै सबैले गाली गर्ने भय उनले सुनाइन्। ‘छोडौँ भने के छोडौँ, छोडेको भोलिपल्ट, थुक्क, पालो त दिएको थियो नि तिमीहरूलाई एउटा, तिमीहरूको औकात त छोडेर हिँड्ने न रहेछ, के गर्याैँ भन्ने भाष्य आउँछ,’ प्रधानमन्त्री कार्कीले आफ्नो अनुभव सुनाइन्।
‘हामी त पेन्डुलम जस्तो भयौँ,’ उनले अगाडी भनिन्, ‘त्यही पनि सकस गरेर, मेहनत गरेर, बहुत धैर्य धारण गरेर काम गर्दैछौँ।’ युवाहरूबाटै ‘निर्वाचन किन चाहियो?’ भन्ने खालको भाषा आएर पनि तनाव भइरहेको उनले बताइन्। उनले भनिन्, ‘कतै जाँदा सुख नहुने अवस्था अहिले हाम्रो छ।’
आफ्नै बारेमा कथा लेखिदिन उनले कथाकारहरूलाई आग्रह गरिन्। २५ वटा ३० वटा जेन–जी समूह रहेको बताउँदै प्रधानमन्त्री कार्कीले एउटाले एउटा काम, अर्कोले अर्को काम गर भनेर हैरान पारेको बताइन्। ‘अब त मुलुक बाङ्लादेश नहोस् भन्ने सुरमा हामी छौँ,’ प्रधानमन्त्री कार्कीले भनिन्।
प्रकाशित: १० पुस २०८२ १६:४२ बिहीबार





