२४ मंसिर २०८२ बुधबार
image/svg+xml
राजनीति

देउवा, ओली र प्रचण्डकै सल्लाहमा सुशीला कार्की प्रधानमन्त्री नियुक्त: निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने राष्ट्रपतिको कदममा नेपाली कांग्रेसको पूर्ण सहमति र सिफारिस रहेको बताएका छन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै नेता निधिले राष्ट्रपतिले दलहरूकै सल्लाहमा कार्कीलाई प्रधानमन्त्री बनाएको भन्दै यसमा कांग्रेसको राजनीतिक स्वामित्व रहेको स्पष्ट पारेका हुन्।

नेता निधिले मुलुकमा उत्पन्न संवैधानिक रिक्तता र संकट टार्न प्रमुख दलका शीर्ष नेताहरूले नै राष्ट्रपतिलाई निकासका लागि बाटो देखाएको बताए।

‘राष्ट्रपतिजीले शेरबहादुर देउवा, केपी शर्मा ओली, प्रचण्ड, माधव नेपाल लगायतका नेताहरूसँग परामर्श गर्नुभयो। त्यही सल्लाह र सहमतिका आधारमा सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको हो,’ निधिले भने, ‘त्यसैले यो निर्णयमा हाम्रो पनि सहमति छ। हामीले राष्ट्रपतिलाई फागुन २१ गते चुनाव गराउन र कार्कीलाई प्रधानमन्त्री बनाउन राजनीतिक वचन दिएका छौँ।’

अहिले कांग्रेसभित्रै र बाहिरबाट यो कदमको संवैधानिकताबारे प्रश्न उठिरहेका बेला निधिले भने आफूहरूले दिएको वचनबाट पछि हट्न नमिल्ने जिकिर गरे।

‘हामीले राजनीतिक सहमति र सिफारिस दिइसकेपछि अब अदालत वा अन्य बहाना देखाएर पछि हट्नु राजनीतिक इमानदारी होइन,’ उनले भने, ‘हाम्रो राजनीतिक धर्म भनेको अब उक्त सहमतिलाई कार्यान्वयन गर्न सघाउनु र चुनावमा जानु हो।’

सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको भन्ने टिप्पणीमा निधिले यसलाई ‘आवश्यकताको सिद्धान्त’ सँग जोडे।

‘संविधानको कुनै स्पष्ट धाराले यो परिकल्पना नगरे पनि धारा ६१ (४) बमोजिम संविधानको पालना र संरक्षण गर्ने दायित्व राष्ट्रपतिको हो,’ निधिले तर्क गरे, ‘संसद नभएको र सरकार विहीनताको अवस्थामा मुलुकलाई निकास दिनु बाध्यात्मक आवश्यकता थियो। दलहरूकै सहमतिमा यो कदम चालिएको हो।’

प्रकाशित: २४ मंसिर २०८२ २०:१६ बुधबार