३ चैत्र २०८२ मंगलबार
image/svg+xml
राजनीति

चितवन-१ बाट ६ जनाको नाम सिफारिस गर्दा परेनन् सुरेन्द्र पाण्डे

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा एमाले चितवन- १ बाट ६ जनाको नाम सिफारीस गरेको छ । क्षेत्रीय समितिको आजको बैठकले पूर्वप्रदेश मन्त्रीसहित छ जनाको नाम सिफारिस गरेको हो ।  

सिफारिस हुनेमा बागमती प्रदेशका पूर्वकृषि तथा सहकारी मन्त्री तथा एमाले प्रदेश कमिटी उपाध्यक्ष दावा दोर्जे लामा, चितवन जिल्ला अध्यक्ष कमलराज पाठक, एमाले प्रदेश कमिटी सदस्य लक्ष्मी कोइराला पोख्रेल, एमाले केन्द्रीय विभागका पूर्वसदस्य डा किशोर खनाल, चितवन क्षेत्र नम्बर १(क) संयोजक कृष्णलाल चौधारी र सचिव भरत भण्डारीको नाम सिफारीस गरेको छ । आवदेनका आधारमा उनीहरुको नाम क्षेत्रीय समितिले जिल्लामा पठाएको क्षेत्रीय समिति अध्यक्ष प्रेम दवाडीले नागरिकलाई जानकारी दिए ।  

चितवन क्षेत्र नम्बर १ नेकपा एमालेका पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र समेत हो । यसपटक नेकपा एमाले क्षेत्रीय किमिटीले पाण्डेको नाम जिल्लामा सिफारीस गरेको छैन । दवाडीका अनुसार पाण्डेको आवेदन नपरेका कारण उहाँको नाम सिफारिस नगरिकन जिल्ला कमिटीमा पठाइएको हो । ‘क्षेत्रीय कमिटीको अध्यक्षको नाताले मैले उहाँलाई फोन गरेको थिएँ,’ अध्यक्ष दवाडीले भने ‘उहाँले म आज बाहिर छु त्यहाँ तपाईँहरु हुनुहुन्छ निर्णय गर्नुहोस भन्नुभयो ।’ अन्य कसैले सिफारिस गरेको भए पाण्डेको नाम जिल्ला कमिटीमा पठाइने उनले बताए ।  

उनका अनुसार एमाले विधानले क्षेत्रीय कमिटीले सिफारीस गरेका व्यक्ति मात्र प्रतिनिधि सभाको उम्मेदवार हुन पाउने व्यवस्था उल्लेख छ । एमाले नेता सुरेन्द्र पाण्डेले चितवनका साथीहरुले आफ्नो विषयमा स्वविवेक प्रयोग गर्ने बताए । ‘म अहिले नेपालगञ्ज छु । चितवनका लागि म चाहिने हो वा होइन पार्टीले निर्णय गर्छ,’ उनले भने ‘चितवनमा पार्टीका साथीहरु हुनुहुन्छ उहाँहरुले निर्णय गर्नुहुन्छ।’

पूर्व अर्थमन्त्री समेत रहेका पाण्डे बौद्धिक नेताका रुपमा परिचित छन् । उनले यहाँबाट पटक पटक जित्दै आएका छन् । चितवनमा ३ वटा निर्वाचन क्षेत्र छन् । अन्य २ वटा निर्वाचन क्षेत्रले २२ गते नाम सिफारिस गर्नेछ । त्यस लगत्तै जिल्ला कमिटी बैठकले अन्तिम नाम पुस २३ गते प्रदेश हुँदै केन्द्रीय कमिटीलाई सिफारिस गर्ने जिल्ला सचिव प्रकाश ढुंगानाले जानकारी दिए ।

प्रकाशित: २० पुस २०८२ १८:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App