१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

निर्वाचनका लागि ४१ संस्थाले पर्यवेक्षण गर्ने

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि ४१ वटा संस्थाले पर्यवेक्षण गर्ने जनाएको छ। आयोगका अनुसार ४ वटा अन्तर्राष्ट्रिय र ३७ वटा आन्तरिक संस्था गरी कुल ४१ संस्थाले निर्वाचन अनुगमन गर्नेछन्। 

अन्तर्राष्ट्रिय पर्यवेक्षकमा नेपालस्थित आवासीय राजदूतावास तथा नेपालका लागि सहप्रमाणित कूटनीतिक नियोगहरू रहेका छन्। साथै दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकायका सदस्य राष्ट्रका निर्वाचन आयोगका प्रतिनिधि तथा विगतदेखि सहकार्य गर्दै आएका विभिन्न देशका निर्वाचन आयोगका प्रमुख र प्रतिनिधिहरू पनि पर्यवेक्षणमा सहभागी हुनेछन्। आयोगले सम्बन्धित संस्थाको अनुरोधका आधारमा केही गैरसरकारी संस्थालाई समेत पर्यवेक्षणको अनुमति दिएको जनाएको छ। 

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पर्यवेक्षणका क्रममा निष्पक्षता र आचारसंहिताको पालना गर्न आग्रह गरेका छन्। उनले प्रतिष्ठित व्यक्तित्वहरूले आफ्ना देशमा जस्तै यहाँ पनि निर्वाचन शान्तिपूर्ण रूपमा भइरहेको सन्देश लैजाने विश्वास गरेका छन्। 

तर केही विदेशी संघसंस्थाले विगतमा निर्वाचन पर्यवेक्षणको नाममा आफ्नो उद्देश्य पूरा गर्न खोजेको तितो अनुभव रहेको बताएका छन्। उनले भने, 'पर्यवेक्षणले ‘फलानो चिन्हमा भोट हाल्नुस, फलानोमा नहाल्नुस भन्ने प्रचार गरेको इतिहास छ। त्यसको जानकारी पाएपछि आयोगले तत्कालै सम्बन्धित व्यक्तिलाई मुलुकबाट निष्कासन गरेको उदाहरण पनि छ।’ 

भण्डारीले मतदान स्थलमा अनावश्यक हस्तक्षेप नगर्न, मतदान अधिकृतलाई प्रभावित पार्ने खालका गतिविधि नगर्न र कुनै अवाञ्छित गतिविधि देखिए तत्काल सञ्चारमाध्यममार्फत जानकारी गराउन आग्रह गरेका छन्।

प्रकाशित: १० फाल्गुन २०८२ १८:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App