१० जेष्ठ २०८३ आइतबार
image/svg+xml
राजनीति

कान्समा नेपाली चलचित्रको सफलता ‘विश्वकप’ जिते जत्तिकै ऐतिहासिक: डंगोल

काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले फ्रान्सको कान्समा सम्पन्न यस वर्षको फिल्म फेस्टिभल नेपाली चलचित्र उद्योगका लागि गर्व गर्न लायक क्षण भएको बताएकी छन्।

फेस्टिभलमा सहभागी भई स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेपाली कला र सिर्जनात्मक क्षेत्रको उचाइ अन्तर्राष्ट्रिय मञ्चमा अझ अग्लिएको धारणा राखिन्।

फेस्टिभलमा अविनाश विक्रम शाहद्वारा निर्देशित नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग’ ले ‘अनसर्टेन रिगार्ड’ विधामा ‘जुरी प्राइज’ प्राप्त गर्नु ऐतिहासिक उपलब्धिको भएको उनले सुनाइन्।

‘नेपाली चलचित्र वर्ल्ड प्रिमियर हुँदा कलाकारसँगै बसेर चलचित्र हेर्न पाउनु गौरवको विषय हो। चलचित्रले लगातार ७ मिनेटसम्म स्ट्यान्डिङ ओभेसन प्राप्त गर्दा सबै दर्शक भावुक हुनुभएको थियो,’ उनले सुनाइन्, ‘फेस्टिभलको इतिहासमा नेपाली चलचित्रले प्राप्त गरेको यो पहिलो अवसर फुटबल प्रेमीहरूका लागि विश्वकप जिते जत्तिकै महत्त्वपूर्ण र ऐतिहासिक सावित भएको छ।’

कार्यवाहक प्रमुख डंगोलले यो सफलता प्राप्त गर्न पर्दा अगाडि र पर्दा पछाडि रहेर अहोरात्र खट्ने सम्पूर्ण टोलीप्रति कृतज्ञता व्यक्त गरिन्। उनले काठमाडौं महानगरपालिकाले आयोजना गर्ने फिल्म फेस्टिभलको विषयलाई कान्सको अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउनु अर्को महत्त्वपूर्ण पक्ष भएको उल्लेख गरिन्।

डंगोलका अनुसार विभिन्न नगरहरूबीच आपसी सम्बन्ध, सिकाइ तथा प्राविधिक क्षमता आदानप्रदान गर्ने विषयमा महत्वपूर्ण छलफलहरू भएका छन्।

महोत्सवका क्रममा उनले अन्तर्राष्ट्रिय स्तरको ज्ञान, सीप र अनुभवलाई प्रयोग गर्दै नेपालको रचनात्मक उद्योगको सन्तुलित विकास गर्ने योजना रहेको सुनाइन्।

रेड कार्पेटमा परम्परागत पहिरनका विषयमा सोधिएको प्रश्नमा उनले भनिन्, ‘मैले नेवार समुदायको मौलिक पोशाक हाकुपटासी लगाएकी थिएँ। म नेवार र त्यसमा पनि ज्यापू समुदायको प्रतिनिधित्व गर्दछु। हाम्रो संस्कार र परम्परालाई विश्व सामु पुर्‍याउनु मेरो उद्देश्य थियो। यो केवल एउटा समुदायको मात्र नभई विश्वभरका नेपालीले गर्व गर्ने पहिचानको विषय हो।’

कान्स नगरका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा आइतबार फ्रान्स प्रस्थान गरेकी डंगोललाई विमानस्थलमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ र सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतसहितका अधिकारीहरूले स्वागत गरेका थिए।

भेटका क्रममा डंगोलले मेयर लिसनार्डलाई काठमाडौंमा आयोजना हुने फिल्म फेस्टिभलमा सहभागी हुन निमन्त्रणा समेत दिइन्।

जवाफमा मेयर लिसनार्डले काठमाडौं फिल्म फेस्टिभलको सफलताका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको प्रतिबद्धता जनाएका थिए।

फेस्टिभलका क्रममा चलचित्र उत्पादनसँग सम्बन्धित आधुनिक प्रविधि र प्राविधिक स्थलहरूको अवलोकन समेत गरिएको थियो। विभिन्न नगरका प्रमुख र रचनात्मक उद्योगका अधिकारीहरूसँगको छलफलमा चलचित्रलाई गीत, सङ्गीत, साहित्य, फेसन र खाना जस्ता विधासँग जोडेर सिर्जनात्मक उद्योगको रूपमा विकास गर्ने सम्भावनाबारे कुराकानी भएको थियो।

स्थानीय समुदायदेखि अन्तर्राष्ट्रिय क्षेत्रका चलचित्रकर्मी, शिक्षाविद् र पेशाकर्मीहरूबीचको सहकार्यलाई प्राथमिकता दिने विषयमा समेत भेटघाट केन्द्रित रहेको थियो।

फ्रान्सको कान्स र नेपालको काठमाडौं दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’ नेटवर्कअन्तर्गत चलचित्र विधाका सदस्य नगरहरू हुन्।

प्रकाशित: ९ जेष्ठ २०८३ १५:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App