२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

इलाम-२ बाट सुहाङ नेम्बाङ बने एमालेको सर्वसम्मत् उम्मेदवार

आउँदो फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि इलामस्थित नेकपा (एमाले)ले इलाम क्षेत्र २ बाट सुहाङ नेम्बाङको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ । शनिबार गजुरमुखीमा सम्पन्न एमालेको प्रतिनिधिसभा निर्वाचत क्षेत्र समन्वय कमिटी बैठकले सुहाङको नाम सर्वसम्मत् रूपमा एकल सिफारिस गर्ने निर्णय गरेको हो ।  

एमालेको तत्कालीन कानुन विभाग सदस्य नेम्बाङ २०८१ वैशाखमा सम्पन्न उपनिर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दलहरूको गठबन्धनलाई पराजित गर्दै नेम्बाङ विजयी बनेका थिए । सुहाङले २७ हजार ७ सय ७२ र निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काले २२ हजार ९ सय ४२ मत ल्याएका थिए ।  

यसपटक नेम्बाङ नै यो क्षेत्रबाट सिफारिस भएका हुन् । एमालेले इलाम क्षेत्र २ मा २०५६ सालयताका सबै चुनाव जितेको छ । यसअघि सुहाङकै बुबा सुवासचन्द्र नेम्बाङ यहाँबाट निर्वाचित भएका थिए । सुहाङ भर्खरै सम्पन्न एमालेको ११औं महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

एमालेले इलाम क्षेत्र १ मा महेश बस्नेत, काजीमान कागते र दुर्गादेवी भट्टराईको नाम सिफारिस गरेको छ । बस्नेत २०७९ सालमा सम्पन्न निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए । कागते कोशी प्रदेशसभाका पूर्वसदस्य र भट्टराई सूर्योदय नगरपालिकाकी पूर्वप्रमुख हुन् । 

प्रकाशित: १९ पुस २०८२ १५:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App