नेकपा एमालेका सचिव महेश बस्नेतले निवर्तमान गृहमन्त्री सुधन गुरुङको राजीनामालाई सकारात्मक कदम भनेका छन्। उनले रिक्त रहेको गृहमन्त्रीको जिम्मेवारी अमरेशकुमार सिंहलाई दिन उपयुक्त हुने सुझाव समेत दिएका छन्।
गृहमन्त्री गुरुङले बुधबार पदबाट राजीनामा दिएपछि प्रतिक्रिया दिँदै सचिव बस्नेतले उनी ठुलो दुर्घटनाबाट जोगिएको टिप्पणी गरे।
‘सुधन गुरुङले राजीनामा दिएर राम्रो गर्नुभयो। उहाँ बहिर्गमन र निष्कासनको संघारमा हुनुहुन्थ्यो, राजीनामा नदिएको भए उहाँमाथि कारबाही हुन्थ्यो,’ बस्नेतले भने।
उनले गुरुङलाई पदबाट हटाउन आफूहरूले पनि दबाब दिँदै आएको सुनाए। आगामी गृहमन्त्री को हुनुपर्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा बस्नेतले रास्वपा सांसद अमरेशकुमार सिंहको नाम अगाडि सारेका हुन्।
उनले भने, ‘अमरेश सिंह मेरो पुरानो साथी हुनुहुन्छ, उहाँलाई गृहमन्त्री दिएर इज्जत राखिदिए हुन्छ। यो मेरो व्यक्तिगत सुझाव हो।’
सचिव बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको सन्दर्भ कोट्याउँदै अदालतको आदेशले न्याय मिलेको दाबी गरे।
‘अदालतले न्याय दिएकाले हामीले पूर्वनिर्धारित आन्दोलन स्थगित गरेका हौं, नत्र हामी निर्णायक सडक संघर्षको तयारीमा थियौं,’ उनले थपे।
अस्वाभाविक सम्पत्ति विवरण र विवादित व्यवसायीसँगको सम्बन्धका कारण चौतर्फी दबाब बढेपछि गृहमन्त्री सुधन गुरुङले बुधबार प्रधानमन्त्री बालेन्द्र शाहलाई राजीनामा बुझाएका थिए।
हाल गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री शाह आफैँले सम्हालेका छन्।
प्रकाशित: ९ वैशाख २०८३ १६:३८ बुधबार





