३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको आशीर्वाद लिएर काममा खटिए सुदन, भन्छन् : प्रत्येक मिनेट राष्ट्रका लागि महत्वपूर्ण छ

प्रतिनिधिसभा सदस्यमा गोरखा-१ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुदन गुरुङले नयाँ सरकार गठनको पर्खाइ नगरी आफ्नो जिम्मेवारी र कर्तव्यलाई पूर्ण निष्ठाका साथ अघि बढाउने निर्णय गरेको जानकारी दिएका छन्। 

शुक्रबार सामाजिक सञ्जालमा उनले प्रधानमन्त्री सुशीला कार्कीबाट शुभकामना तथा आशीर्वाद ग्रहण गरेलगत्तै देशको काममा एक क्षण पनि ढिला गर्न नहुने भन्दै सक्रियता बढाएको जानकारी गराएका हुन्। 

नयाँ सरकार गठन हुन केही दिन मात्र बाँकी रहेको अवस्थामा राष्ट्रका लागि प्रत्येक मिनेट महत्वपूर्ण हुने गुरुङले बताएका छन्। आगामी सरकारलाई सहज रूपमा कार्यभार सम्हाल्न सहयोग पुर्‍याउने उद्देश्यले उनले सबै मन्त्रालयहरूलाई व्यवस्थित 'ट्रान्जिसन' (संक्रमणकाल) का लागि तयार पार्ने काम तुरुन्तै प्रारम्भ गर्ने घोषणा गरेका छन्।

उनले पदभन्दा ठूलो कुरा काम र जिम्मेवारी भएको उल्लेख गर्दै समय कम भए पनि बाँकी रहेका समस्याहरू समाधान गर्ने प्रयास जारी राख्ने बताएका छन्। ‘हामीसँग समय अत्यन्त सीमित छ, प्रत्येक दिन, प्रत्येक घण्टा र प्रत्येक मिनेट राष्ट्रका लागि महत्वपूर्ण छ,’ उनले भनेका छन्, ‘आगामी सरकारलाई सहज रूपमा कार्यभार सम्हाल्न सहयोग पुर्‍याउने उद्देश्यले सबै मन्त्रालयहरूलाई व्यवस्थित ट्रान्जिसनका लागि तयार पार्ने काम तुरुन्तै प्रारम्भ गर्नेछु।’

देशको सेवा नै आफ्नो प्राथमिकता भएको बताउँदै गुरुङले आजदेखि नै आफू पूर्ण रूपमा काममा केन्द्रित भइसकेको जानकारी दिएका छन्।

सुदन लेख्छन्, 
‼️ जेठो छोरा  ‼️ 
आज सम्माननीय प्रधानमन्त्री सुशीला कार्की ज्यू बाट शुभकामना तथा आशीर्वाद ग्रहण गर्ने सौभाग्य पनि मिल्यो।
नयाँ सरकार गठन हुन केही दिन मात्रै बाँकी रहेको अवस्थामा देशको काम एक क्षण पनि रोक्न मिल्दैन भन्ने मेरो दृढ विश्वास छ। यही सोचका साथ आजदेखि नै आफ्नो जिम्मेवारी र कर्तव्यलाई पूर्ण निष्ठाका साथ अघि बढाउने निर्णय गरेको छु।
हामीसँग समय अत्यन्त सीमित छ। प्रत्येक दिन, प्रत्येक घण्टा र प्रत्येक मिनेट राष्ट्रका लागि महत्वपूर्ण छ। त्यसैले आगामी सरकारलाई सहज रूपमा कार्यभार सम्हाल्न सहयोग पुर्‍याउने उद्देश्यले सबै मन्त्रालयहरूलाई व्यवस्थित ट्रान्जिसनका लागि तयार पार्ने काम तुरुन्तै प्रारम्भ गर्नेछु।
समय कम भए पनि सम्भव भएसम्म बाँकी रहेका समस्याहरू समाधान गर्ने प्रयास पनि जारी रहनेछ। पदभन्दा ठूलो कुरा काम र जिम्मेवारी हो भन्ने विश्वासका साथ, आजदेखि म पूर्ण रूपमा कामतर्फ केन्द्रित भइसकेको छु।
देशको सेवा नै मेरो प्राथमिकता हो।

प्रकाशित: ३० फाल्गुन २०८२ ०७:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App