२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

जसपा नेता बस्नेत भन्छन्: सभामुखले राजनीतिक ‘कू’ गर्न खोजे

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सभामुख देवराज घिमीरेले राजनीतिक ‘कू’ गर्न खोजेको आरोप लगाएका छन्।

बुधबार सभामुख घिमीरेले दलका प्रतिनिधिहरुसँग संसद पुनर्स्थापनाबारे गरेको छलफलबारे धारणा राख्दै उनले उक्त कुरा बताएका हुन्।

बस्नेतले भने, ‘प्रतिनिधि सभा विघटन र वर्तमान सरकारको गठन जेन-जी आन्दोलनका उपज हुन्। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निर्वाचन र भ्रष्टाचारीमाथि कारबाही आन्दोलनले दिएको म्याण्डेट हो। विघटीत संसद पुनर्स्थापनाको बहस औचित्यहिन हो। सभामुखले राजनीतिक षड्यन्त्र गर्न खोजेको देखियो।’

जेन-जी आन्दोलनको मर्मलाई आत्मसाथ गर्दै दलहरुलाई विश्वासमा लिएर मुलुकलाई निर्वाचनमा होमिनका लागि सरकारले उपयुक्त वातावरण बनाउनुपर्नेमा बस्नेतले जोड दिए।

निर्वाचनलाई स्वस्थ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले कुनै कसर बाँकी राख्न नहुने उनको भनाइ छ।

आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार निर्वाचन कार्य सम्पन्न हुनुपर्नेमा जोड दिए। निर्वाचन आयोगले आज सबै राजनीतिक दलहरुसँग आगामी फागुन २१ मा हुने प्रतिनिसभा सदस्यको निर्वाचनबारे छलफल गर्दैछ।

प्रकाशित: ३० आश्विन २०८२ १०:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App