२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

खगेन्द्र सुनार र आईजी कार्कीको नोकझोकबारे सभामुखले लिए ब्रिफिङ

सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच भएको नोकझोकप्रति सभामुख डोलप्रसाद (डीपी) अर्यालले चासो व्यक्त गरेका छन्।

असंसदीय दृश्य बाहिरिएपछि सभामुख अर्यालले बिहीबार संसद्का पदाधिकारीहरूलाई बोलाएर घटनाबारे विस्तृत ब्रिफिङ लिएका हुन्।

सभामुख अर्यालले सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्का, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय र लेखा समितिका सचिव बबिता मिश्रसँग छलफल गर्दै संसदीय समितिको गरिमा र मर्यादा जोगाउन निर्देशन दिएका हुन्। 

छलफलका क्रममा सभामुखले जनप्रतिनिधिहरूले बैठकमा संयम अपनाउँदै शिष्ट र मर्यादित भाषा प्रयोग गर्नुपर्नेमा जोड दिए।

बुधबारको लेखा समिति बैठकमा प्रहरीको पोसाक एवं सामग्री खरिदमा अनियमितता भएको आरोप लगाउँदै सांसद सुनारले गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ र आईजीपी कार्कीको राजीनामा माग्दै छानबिनको माग गरेका थिए।

जवाफमा आईजीपी कार्कीले समितिमा आएर जे मन लाग्यो त्यही बोलेको भन्दै चेतावनी दिएपछि बैठकमा भनाभन भएको थियो।

छलफलपछि लेखा समितिका सभापति भरतबहादुर खड्काले बैठकमा असंसदीय घटना भएको स्वीकार्दै सांसदहरूलाई थप अनुशासित र मर्यादित बनाउन अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने विषयमा सभामुखसँग कुराकानी भएको जानकारी दिए।

प्रकाशित: २८ श्रावण २०८३ १९:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App