२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

व्यावसायिक संस्थालाई राजनीतिबाट टाढा राख्न सभामुख अर्यालको सुझाव

सभामुख डीपी अर्यालले व्यावसायिक तथा पेशागत संस्थाभित्र राजनीतिक गतिविधि नगर्न सुझाव दिएका छन्।

नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले नाट्टा व्यावसायिक संस्था भएकाले यसलाई राजनीतिक विवाद र स्वार्थबाट टाढा राख्नुपर्ने बताए।

'यो व्यावसायिक संस्था हो, यसमा राजनीति नगरौ। पर्यटन क्षेत्रको विकास, व्यवसायको प्रवर्द्धन र व्यावसायिक हितका विषयमा केन्द्रित भएर अघि बढौँ,' उनले भने।

सभामुख अर्यालले पर्यटकका लागि सबैभन्दा महत्वपूर्ण विषय सुरक्षा रहेको उल्लेख गर्दै हवाईजहाज, ट्याक्सी तथा होटललगायत पर्यटन सेवाका हरेक क्षेत्रमा पर्यटकले सुरक्षित महसुस गर्ने वातावरण बनाउनुपर्ने बताए। त्यसपछि मानिसको व्यवहार, सेवा र सुविधाले पर्यटकलाई आकर्षित गर्ने उनको भनाइ थियो। उनले पर्यटन क्षेत्रमा आवश्यक सुधारका लागि व्यवसायी, सरकार र सम्बन्धित सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिँदै आन्तरिक द्वन्द्व र व्यक्तिगत स्वार्थभन्दा माथि उठ्न आग्रह गरे।

सभामुख अर्यालले काठमाडौं उपत्यकामा व्यवस्थित पर्यटक बसपार्क निर्माण गर्नुपर्ने बताए। अहिले सञ्चालनमा रहेका बसपार्क तथा उपलब्ध संरचनालाई प्रभावकारी रूपमा प्रयोग गर्दै निश्चित क्षेत्रमा पर्यटक बसपार्कको व्यवस्था गर्नुपर्ने उनको सुझाव थियो।

पर्यटनसम्बन्धी प्रस्तावित विधेयकमा पर्याप्त बहस र छलफल आवश्यक रहेको उल्लेख गर्दै सभामुख अर्यालले आगामी ५० वर्षलाई दृष्टिगत गरी दीर्घकालीन सोचका साथ कानुन निर्माण गर्नुपर्ने बताए। पर्यटन व्यवसायमा दोस्रो पुस्तालाई समेत आकर्षित गर्ने र प्रवेश गर्ने वातावरण बनाउनुपर्ने उनको भनाइ थियो।

सभामुख अर्यालले नेपाल वायुसेवा निगमलाई प्रभावकारी र प्रतिस्पर्धी बनाउन संरचनागत सुधार आवश्यक रहेको बताए। 'नेपाल एयरलाइन्स बन्छ, तर अहिलेकै संरचनाले बन्दैन,' उनले भने। विश्वका विभिन्न एयरलाइन्स कम्पनीहरू नेपालसँग सहकार्य गर्न इच्छुक रहेको उल्लेख गर्दै व्यक्तिगत लाभको सोचभन्दा माथि उठेर राष्ट्रिय हित र पर्यटन क्षेत्रको विकासलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।

नेपालको पर्यटन क्षेत्रको विकासका लागि नेपाललाई युरोपेली संघको एयर सेफ्टी लिस्टबाट यथाशीघ्र हटाउन आवश्यक रहेको उल्लेख गर्दै सभामुख अर्यालले यसका लागि पर्यटन व्यवसायीहरूको समेत सहयोग र सक्रिय भूमिका आवश्यक रहेको बताए।

यस्तै, सभामुख अर्यालले नेपाली र विदेशी पर्यटकबीच सेवाका क्रममा विभेद गर्न नहुनेमा पनि जोड दिए।  'होटलमा नेपाली पर्यटक आएर बसिदिऊन्, धेरै खर्च गरून् भन्ने चाहना राख्ने तर व्यवहारमा विभेद गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्छ,' उनले भने। हवाई टिकटको मूल्य देखि होटल तथा अन्य पर्यटन सेवामा समान व्यवहार हुनुपर्ने उनको भनाइ थियो।

सभामुख अर्यालले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) लाई अझ बलियो, व्यवस्थित र सुविधा सम्पन्न बनाउनुपर्ने बताए। नाथमसम्बन्धी नयाँ कानुन निर्माणको बहस चलिरहेको सन्दर्भमा पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने गरी संस्थालाई थप सुदृढ बनाउनुपर्ने उनको सुझाव थियो। यस्तै सभामुख अर्यालले भैरहवा, पोखरा र निजगढ विमानस्थलको प्रभावकारी सञ्चालन तथा उपयोगका विषयमा समेत गम्भीर बहस आवश्यक रहेको बताए।  

सभामुख अर्यालले पछिल्लो निर्वाचनमा जनताले इतिहासमै पहिलोपटक ठूलो मतसहित सरकारलाई स्पष्ट जिम्मेवारी दिएको उल्लेख गर्दै अब सरकार असफल हुने छुट नरहेको बताए। 'मुलुक समृद्ध हुनैपर्छ। सुशासन कायम गर्दै भ्रष्टाचारलाई जरैदेखि उखेल्नुपर्छ,' उनले भने।

प्रकाशित: २९ श्रावण २०८३ १३:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App