काभ्रेको धुलिखेल नगरपालिका –०९ काभ्रेभञ्ज्याङस्थित बीपी राजमार्गबाट बिल बिजक नभएका चाँदीका विभिन्न गरगहना तथा तयारी सामानसिहत एक जना पक्राउ परेका छन्।
शुक्रबार अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङबाट प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेको कमाण्डमा खटिएको टोलीले सुमो चेकजाँच गर्ने क्रममा मोरङ उर्लाबारी नगरपालिका –०६ बस्ने अन्दाजी ४४ वर्षीय खगेन्द्र गजमेरले ल्याएको कार्टुनमा बिल बिजक नभएका ११ किलो ६८२ ग्राम चाँदीका विभिन्न गरगहना तथा तयारी सामान फेला परेको हो।
बरामद सामानमा कल्ली, जन्तर, जन्तर माला, विभिन्न प्रकारका ब्रासलेट, पोते माला, ढुङ्गी, बुलाकी, टप, औँठी, झुम्का, शिरबन्दी, बल माला, कानमा लगाउने रिङ, चुरा, पाउजु र खड्कुलो लगायत रहेका छन्। उक्त सामानको अन्दाजी मूल्य ४७ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सुमो चालक र सामान ल्याउने गजमेरलाई भन्सार कार्यालय गौचरण पठाइएको प्रहरीले जनाएको छ।
सुमो गाडी, चालक वि।क। र सामान ल्याउने गजमेरलाई भन्सार कार्यालय गौचरण, काठमाडौं पठाइएको छ।
प्रकाशित: २९ श्रावण २०८३ १८:५० शुक्रबार





