सभामुख डोल प्रसाद अर्यालले पत्रकारिता क्षेत्र जिम्मेवार र सबल भए देशमा हुने आन्दोलनहरूमा कमी आउने बताएका छन्।
सोमबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले सामाजिक र राजनीतिक मुद्दाहरूमा सञ्चारमाध्यमले गर्ने छलफल र संवादले सडक आन्दोलनको आवश्यकतालाई न्यूनीकरण गर्ने उल्लेख गरे।
‘पत्रकारिता राम्रो भए देशमा आन्दोलन कमी हुन्छ,’ सभामुख अर्यालले भने, ‘सञ्चारमाध्यमले सानादेखि ठूला विषयमा विज्ञहरूसँग निरन्तर बहस चलाउने हो भने धेरै द्विविधाहरू संवादबाटै समाधान हुन सक्छन्।’
उनले सरकारी निर्णयहरू किन र कसरी गरिए भन्नेबारे आम नागरिकलाई बुझाउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताए।
‘तपाईंहरूबाट आउने सन्देश र सूचनाले नै स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई सुसूचित गरिरहेको हुन्छ,’ उनले सुनाए, ‘अहिले त विदेशीहरूले समेत नेपाली समाचारलाई अनुवाद गरेर सुन्ने र बुझ्ने अवस्था बनेको छ।’
सभामुख अर्यालले संवाद र छलफलको प्रक्रियालाई अझै व्यापक बनाउनुपर्नेमा जोड दिए। संवादको अभावमा कतिपय अवस्थामा आन्दोलनको बाटो रोज्नुपर्ने परिस्थिति सिर्जना हुने भन्दै उनले पत्रकारहरूले जिम्मेवार भएर रचनात्मक बहसलाई प्राथमिकता दिनुपर्ने सुझाव समेत दिए।
पेशागत मर्यादा र आध्यात्मिक चेतनाले समेत कार्यक्षेत्रमा सकारात्मक ऊर्जा दिने उल्लेख गर्दै उनले सञ्चार क्षेत्रले समाजमा सही सन्देश प्रवाह गर्नुपर्ने धारणा राखे।
उनले पत्रकारिता आफैँमा एक जिम्मेवार अंग भएकाले यसले राष्ट्रिय हित र नागरिकका सरोकारका विषयलाई गम्भीरतापूर्वक उठाउनुपर्ने बताए।
प्रकाशित: ११ जेष्ठ २०८३ १५:५८ सोमबार





