प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले संसदीय समितिहरूको कामकारबाहीलाई थप प्रभावकारी, परिणाममुखी र समयबद्ध बनाउन समितिका सभापति तथा सचिवहरूलाई निर्देशन दिएका छन्।
शुक्रबार समितिका सभापति र सचिवहरूसँग भएको छलफलमा सभामुख अर्यालले अनुगमन तथा अवलोकनका क्रममा स्पष्ट कार्ययोजना र कार्यविधिका आधारमा अघि बढ्नुपर्नेमा जोड दिए। उनले कानुन र स्थापित विधिको पालना गर्दै व्यवस्थित रूपमा अनुगमन गर्न समितिहरूलाई आग्रह गरे।
सरकारलाई सुझाव तथा सिफारिस गर्दा पनि समितिहरूले आफ्नो संवैधानिक तथा कानुनी क्षेत्राधिकारभित्र रहेर तथ्यमा आधारित र कार्यान्वयनयोग्य सुझाव दिनुपर्ने उनको भनाइ थियो।
सभामुख अर्यालले समितिहरूमा लामो समयदेखि विचाराधीन रहेका विधेयकलाई अनावश्यक रूपमा रोकिराख्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याए। उनले विधेयकमाथि पर्याप्त, गहन र गुणस्तरीय छलफल गरी आवश्यक परिमार्जनसहित समयमै प्रतिनिधिसभामा पेश गर्न निर्देशन दिए।
छलफलका क्रममा संसदीय समितिहरूलाई प्रविधिमैत्री, स्रोत–साधन सम्पन्न तथा थप सक्षम बनाउने विषयमा पनि विचारविमर्श भएको थियो। समितिहरूको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउने उपायबारे सभापति तथा सचिवहरूले आफ्ना सुझाव तथा धारणा प्रस्तुत गरेका थिए।
सभामुख अर्यालले संसदीय समितिहरूको प्रभावकारी कार्यसम्पादनले संसद्को भूमिका थप सशक्त हुने उल्लेख गर्दै जिम्मेवारी निर्वाहमा पारदर्शिता, उत्तरदायित्व र समयपालनलाई प्राथमिकता दिन आग्रह गरेका छन्।
प्रकाशित: १५ श्रावण २०८३ १८:५२ शुक्रबार





