२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

निर्वाचनमा सामाजिक सञ्जाल मुख्य चुनौती

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा समाजिक सञ्जालहरू चुनौतीको रुपमा देखिएको बताएका छन्  ।  

निर्वाचन अयोगले सोमबार विराटनगरमा आयोजना गरेको मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रदेश तथा जिल्ला निर्वाचन अधिकारीका लागि निर्वाचन सञ्चालन तथा व्यवस्थापन अभिमुखीकरण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।  

राउतले निर्वाचन प्रचारप्रसारका लागि सामाजिक सञ्जाल अहिलेको प्रमुख माध्यम बनिरहेका बेला यसपटकको निर्वाचनमा ती सञ्जालबाट फैलाइने मिथ्या सूचनाले पनि निर्वाचनमा असर पार्न सक्ने तर्फ निर्वाचन आयोग सचेत रहेको बताए । उनले सामाजिक सञ्जालबाट समस्या आउन सक्ने देखिएकाले नेपाली सेना, नेपाल प्रहरी, दुरसञ्चार प्राधिकरणको आईटी टिमसहित विज्ञहरूको समूह  निर्वाचन आयोगमै बसेर काम गरिरहेको जानकारी दिए  ।  

उनले भने ‘निर्वाचनमा सामाजिक सञ्जालहरूबाट प्रवाह हुने मिथ्या सूचना रोक्न विज्ञहरूको टोली निर्वाचन आयोगमै राखेका छौं ।’

सचिव राउतले सामाजिक सञ्जालहरु फेसबुक र टिकटकसँग गतल सूचनाहरु सम्प्रेषण रोक्नका लागि कुराकानी भइरहेको र सम्झौता गर्ने तयारीसमेत गरिएको जानकारी दिए । उनका अनुसार निर्वाचनलाई आवश्यक जनशक्ती व्यवस्थापनको काम सम्पन्न भइसकेको छ । यस्तै समानुपातिक तर्फको मतपत्र छपाईको काम पनि सुरु गरिएको छ । राउतले ५४ प्रकारका सामाग्री मध्ये  जिल्ला निर्वाचन कार्यालयहरुलाई ३७ प्रकारका निर्वाचन सामग्री खरिदका लागि अख्तियारी दिईसकिएको  र बाँकी केन्द्रले पठाउने जानकारी दिए  । 

कार्यक्रममा कोशी प्रदेशका प्रमुख सचिव राजेन्द्रकुमार पौडलले आगामी निर्वाचनमा सामाजिक सञ्जालसँगै आन्दोलनका क्रममा लुटिएका हतियार, खुल्ला सिमाना, जातीय धार्मिक विवादहरू सुरक्षा चुनौती बन्नसक्ने बताए । प्रतिनिधिसभाको २८ निर्वाचन क्षेत्र रहेको कोशी प्रदेशमा आगामी निर्वाचनका लागि १ हजार ९०७ मतदान स्थल र ४ हजार २७० मतदान केन्द्र कायम गरिएको  आयोगले जनाएको छ । 

कोशी प्रदेशको कुल मतदाता ३५ लाख ७४ हजार ३१० रहेका छन् । जसमा महिला १७ लाख ४६ हजार ७३ , पुरुष १८ लाख २८ हजार २१३, अन्य २४ छन् । मंगलबारसम्म सञ्चालन हुने अभिमुखिकरण कार्यक्रममा कोशी र मधेश प्रदेशका प्रमुख निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र जिल्ला निर्वाचन कार्यालयका प्रमुखहरूको सहभागिता रहेको छ । 

प्रकाशित: २८ पुस २०८२ २०:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App