३२ असार २०८३ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसको नीति प्रतिष्ठानमा ६ उपसमिति संयोजक चयन

फाइल तस्बिर

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले संस्थालाई थप प्रभावकारी र विषयगत रूपमा सशक्त बनाउने उद्देश्यसहित विभिन्न ६ उपसमितिका संयोजक चयन गरेको छ।

प्रतिष्ठानका प्रमुख तथा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा २०८३ असार २५ र २६ गते बसेको प्रतिष्ठानको पाँचौं बैठकले प्रमुखको प्रस्तावमा उपसमिति संयोजकहरूको जिम्मेवारी तोकेको हो। बैठकले प्रतिष्ठानको नीति निर्माण, अनुसन्धान, प्रशिक्षण तथा समन्वय कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित अन्य विविध निर्णयसमेत गरेको जनाएको छ।

बैठकले अपांगता संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा प्रकाश पन्थलाई चयन गरेको छ। त्यसैगरी आदिवासी जनजाति संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिको संयोजकमा रेशम गुरुङलाई जिम्मेवारी दिइएको छ।

दुर्व्यसनमुक्त समाजका लागि सचेतना तथा समन्वय उपसमितिको संयोजकमा डा. डी.बी. सुनार चयन भएका छन् भने पूर्व आप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिको संयोजकको जिम्मेवारी विज्ञान प्रसाईंलाई दिइएको छ।

यसैगरी सार्थक सम्प्रेषण उपसमितिको संयोजकमा मोहन गजुरेल तथा कृषि तथा कृषि उद्यम उपसमितिको संयोजकमा सिताराम काफ्लेलाई नियुक्त गरिएको प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानका अनुसार विषयगत उपसमितिमार्फत नीति अनुसन्धान, संवाद, प्रशिक्षण तथा समन्वयका गतिविधिलाई प्रभावकारी बनाउँदै पार्टीको वैचारिक, नीतिगत र संगठनात्मक क्षमतालाई थप सुदृढ बनाउने लक्ष्य राखिएको छ। बैठकका निर्णय कार्यान्वयनका लागि सम्बन्धित उपसमितिहरूले छिट्टै आफ्नो कार्ययोजना तयार गरी गतिविधि अघि बढाउने कांग्रेसले जनाएको छ। 

प्रकाशित: २८ असार २०८३ १७:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App