राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलको नेता एवं सांसद ज्ञानबहादुर शाहीले सिंहदरबार एउटा सामान्य नाम वा भवन मात्र नभएर यो नेपालको इतिहास भएको बताएका छन्।
इतिहास मासेर देश नबन्ने भन्दै शाहीले यस्तो बताएका हुन्। उनले इतिहासको संरक्षण गरेर नै देश बन्ने जिकिर गरे। संसारका कुनै पनि देशले आफ्नो इतिहास मेटाएर विकास र समृद्धिको यात्रा तय नगरेको शाहीले बताए।
उनले बरु आफ्ना ऐतिहासिक धरोहर, संस्कृति र पहिचानको संरक्षण गर्दै त्यसलाई आधुनिकतासँग जोडेर संसारभर चिनाएको भनाइ राखे।
'इतिहास मासेर देश बन्दैन, इतिहासको संरक्षण गरेर देश बन्छ। संसारका कुनै पनि देशले आफ्नो इतिहास मेटाएर विकास र समृद्धिको यात्रा तय गरेका छैनन्,' सामाजिक सञ्जालमार्फत उनले भने, 'बरु आफ्ना ऐतिहासिक धरोहर, संस्कृति र पहिचानको संरक्षण गर्दै त्यसलाई आधुनिकतासँग जोडेर संसारभर चिनाएका छन्।'
उनले सिंहदरबार केवल एउटा सामान्य नाम वा भवन नभइ यो नेपालको इतिहास, शासन व्यवस्था र राष्ट्रिय पहिचानसँग जोडिएको महत्वपूर्ण धरोहर भएको बताए। 'हामीले इतिहास मेट्ने होइन, इतिहासलाई संरक्षण गर्दै आधुनिक पुस्तासम्म पुर्याउने र विश्वसामु गर्वका साथ चिनाउने हो,' उनले भने।
शाहीले इतिहास सबै मानिसहरूको पहिचान भएको र पहिचान बचाएरै समृद्ध नेपाल बनाउन सकिने जिकिर गरे।
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले आइतबार सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने बताएका थिए। नेपालमा सिंह नभएकाले ‘सिंहदरबार’ नाम उपयुक्त नभएको तर्क गर्दै उनले यसको नाम ‘अनामनगर दरबार’ राख्न सुझाव दिएका थिए। सोही प्रस्तावको जवाफ शाहीले दिएका हुन्।
प्रकाशित: २५ श्रावण २०८३ ०७:३१ सोमबार





