३० भाद्र २०८३ मंगलबार
image/svg+xml
राजनीति

सदनको गरिमा प्रतिपक्षबाट मात्रै अपेक्षा गर्ने हो? : सांसद महर

नेकपा एमालेका सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम गर्न  सरकार र सत्तापक्ष  जिम्मेवार हुनुपर्ने बताएका छन्। 

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महरले पटक–पटक सदनको गरिमा र मर्यादामा आँच आउने गरी सत्तापक्षबाट व्यवहार भइरहेको बताए।  

‘प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम गर्नु हामी सबै माननीय सदस्यहरूको दायित्व हो। यसमा सबैभन्दा बढी जिम्मेवारी सरकारको हुन आउँछ। हामीले धेरै पटक आग्रह गरिसकेका छौँ, यो विषय उठान गरिसकेका छौँ,’ उनले भने, ‘सरकार पक्षबाट, सत्तापक्षबाट पटक–पटक यो सदनको गरिमा र मर्यादामा आँच आउने गरी व्यवहार भइरहेका छन्।’   

महरले सरकार आफैंले प्रतिनिधिसभाको मर्यादा र नियमको पालना गर्नुपर्ने बताए। 

‘के यो सभाको गरिमा र मर्यादा प्रतिपक्षहरूबाट मात्रै अपेक्षा गरिएको हो? म यो प्रश्न गर्न चाहन्छु। सबैभन्दा बढी सरकारले यो सभाको गरिमा र मर्यादा राख्नुपर्ने होइन?’ उनले प्रश्न गरे। 

उनले प्रतिनिधिसभा नियमावलीको व्यवस्थासमेत सत्तापक्षबाट उल्लङ्घन भइरहेको आरोप लगाए। सांसद युवराज दुलालले सदनमा बोलिरहेका बेला गृहमन्त्रीले सभामुखको आसन र बोलिरहेको सदस्यको बीचबाट हिँडेको भन्दै उनले आपत्ति जनाए। 

‘भर्खरै माननीय युवराज दुलाल बोलिरहेको बखत माननीय गृहमन्त्रीज्यू प्रतिनिधिसभा नियमावलीको नियम २० को उपनियम ६ ले सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने व्यवस्था गरेको छ,’ उनले भने। 

प्रकाशित: ३० भाद्र २०८३ १६:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App