नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीभित्र अहिले देखिएको अन्योलता हटाएर सबै नेता तथा कार्यकर्तालाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन्। प्रवक्ता महतले अप्ठ्यारो स्थितिमा एकजुट भएर अगाडि बढ्नुपर्ने र केन्द्रीय समितिमार्फत नै सम्पूर्ण विषयवस्तुमा छलफल गरी सामूहिक निष्कर्ष निकालेर पार्टीभित्र उत्साह ल्याउने बताए।
प्रवक्ता महतले जेनजी आन्दोलनपछि पार्टीका सभापति शेरबहादुर देउवामाथि भइरहेका अनर्गल प्रचारको खण्डन समेत गरेका छन्। उनले सभापति देउवा लोकतान्त्रिक आन्दोलनमा लगातार लडेको स्मरण गर्दै उक्त समयमा पनि उनलाई विभिन्न लाञ्छना लगाएर डेमोरलाइज गर्ने कोशिस गरेको तर ती तत्वहरू सफल नभएको बताएका छन् । जेनजी आन्दोलनपछि पनि सभापति देउवाको विषयमा विभिन्न टीकाटिप्पणी भएको भन्दै उनले बचाउ गरेका छन्।
लोकतान्त्रिक पद्धतिका लागि लडेको मान्छेमाथि जेनजी आन्दोलनपछि यस्ता भेटियो, उस्तो भेटियोदेखि लिएर पासपोर्ट लिएर भाग्दै थियो भन्ने अनर्गल प्रचार गरेको भन्दै उनी कुनै अपराधी नभएको र तर पासपोर्ट लिने हरेक नेपालीको हक भएको बताएका छन्।
उनले पासपोर्ट लिनु नै अपराध भयो भन्ने जस्तो भाष्य सिर्जना गर्ने कोशिस गरिएको भन्दै उनी देश छोडेर भाग्नुपर्ने मानसिकता बोकेको नेता नभएको भन्दै सांघातिक रूपमा हमला हुने नियोजित कुरा देख्दा देख्दै पनि घर नछाडेको र अब देश पनि छोड्नुपर्ने कुनै कारण नभएको बताएका छन्।
प्रकाशित: १२ आश्विन २०८२ १३:३७ आइतबार





