नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र विकसित पछिल्ला घटनाक्रमबारे आइतबार आफ्नो टिमसँग बैठक गरेका छन्। काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा शेखरले आफूलाई सघाइरहेका पार्टीका नेताहरूसँग बैठक गरेका हुन्।
बैठकमा शेखरले आफू पार्टीभित्र मध्यमार्गमै हिँडिरहेको बताउँदै यो यात्रा निकै कठिन रहेको सुनाएका थिए। ‘मध्यमार्ग र सत्यको बाटो गाह्रो र अप्ठ्यारो हुन्छ। तर जित उसैको हुन्छ,’ शेखरको भनाई उधृत गर्दै एक नेताले भने,‘म सत्यको बाटो हिँडिरहेको छु। यसबाट विचलित हुन्न।’
उनले आफू कुनैपनि अतिवादको घेरामा नपरेको पनि आफूनिकट नेतालाई सुनाउँदै आश्वास्त पार्न खोजे। फागुन २१ गतेको निर्वाचनमा आफू पक्ष कांग्रेसकै आधिकारिक चुनाव चिन्हबाटै सहभागी हुनेमा पनि उनले प्रस्ट पारे।
पार्टीभित्रको आधिकारिक विवाद सर्वोच्च अदालतमा प्रवेश गरिसकेको बताउँदै शेखरले अदालतको फैसला आफूलाई मान्य हुने पनि बताएका थिए।
यस्तै १५औं महाधिवेशनबारे अन्यौलता रहेकामा पनि शेखरले चिन्ता व्यक्त गरेका थिए। त्यसलाई ध्यान दिएर अघि बढ्न पनि उनले नेताकार्यकर्तालाई आग्रह गरे।
प्रकाशित: ४ माघ २०८२ १८:१७ आइतबार





