२९ भाद्र २०८३ सोमबार
image/svg+xml
राजनीति

शशांक भन्छन्: चोइटिएर जान खोज्नेलाई हामीले के गर्ने ?

नेपाली कांग्रेसका इतर पक्षका नेता डा. शशांक कोइरालाले तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चुनदेवी छाडेको विषयमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । उनले पार्टीभित्रको एकता कायम राख्न वार्ताको विकल्प नभएको बताएका छन् ।

चुनदेवीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले कांग्रेस एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । खड्का समूह सानेपा जान तयार भएको विषयमा सोधिएको प्रश्नमा उनले कुनै समूह पार्टीबाट अलग हुने अवस्था आए पनि त्यसको समाधान वार्ताबाटै खोज्नुपर्ने बताए ।

‘हामी एकताबद्ध भएर जान चाहन्छौँ । कुनै समूह छुट्टिन्छ भने हामीले के गर्न सक्छौँ ? वार्ता बाहेक हाम्रो कुनै समाधान छैन । उहाँहरूसँग वार्ता गरेर मूल बाटोमा हामी उहाँहरूलाई स्वागत गर्न चाहन्छौँ । हामी एकताबद्ध भएर अगाडि बढ्न चाहन्छौँ,’ उनले भने ।

कोइरालाले नेपाली कांग्रेसको १५औँ महाधिवेशन अत्यन्त महत्वपूर्ण रहेको बताए । महाधिवेशनले कांग्रेसको मात्र नभई नेपालको राजनीतिको आगामी दिशासमेत निर्धारण गर्ने उनको भनाइ छ ।

‘यसले दिशा दिन्छ, भविष्यको दिशा दिन्छ । नेपालको राजनीतिको दिशा दिन्छ । त्यसैले हामी एकदम गम्भीर छौँ,’ उनले भने ।

उनले संस्थापन पक्षले दाबी गरेजस्तो इतर पक्षका माग सम्बोधन नभएको जिकिर गरे । आफ्नो पक्षको धारणा पनि सुन्नुपर्ने भन्दै उनले पटक–पटक एकताबद्ध भएर अघि बढ्न र वार्तामा आउन आग्रह गरेको बताए ।

‘उहाँको तर्कले मात्र कहाँ पुग्छ, हाम्रो तर्क पनि त सुन्नुपर्‍यो नि । हामीले त कति चोटि भन्यौँ, एकताबद्ध भएर जाऔँ, वार्ता गर्न आउनुस् भनेर । उहाँसँग मात्र होइन, गगनजीसँग पनि भन्यौँ । विश्वप्रकाशसँग पनि भन्यौँ । तर आउनुभएन,’ कोइरालाले भने ।

प्रकाशित: २९ भाद्र २०८३ १७:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App