नेकपा (एमाले) का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर पोखरेलले दाङको विकास र समृद्धिको यात्रालाई निष्कर्षमा पुर्याउन आफ्नो नेतृत्व आवश्यक रहेको बताएका छन्। विजौरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले विकासका एजेन्डालाई केन्द्रमा राखेर मतदातासमक्ष प्रस्तुत हुन आग्रह गरे।
सभालाई सम्बोधन गर्दै उनले भने, 'दाङको विकास र समृद्धिका लागि शंकर पोखरेल अपरिहार्य छ भन्ने अभियान घर–घरमा पुर्याइदिनुहोस्। अधुरा काम पूरा गर्न र सुरु भएका योजनालाई निष्कर्षमा पुर्याउन सक्षम नेतृत्व आवश्यक छ।'
पोखरेलले आफू मुख्यमन्त्री हुँदा दाङमा पूर्वाधार, स्वास्थ्य र शिक्षाका क्षेत्रमा महत्वपूर्ण काम सुरु भएको दाबी गरे। उनले भने, 'मैले नेतृत्व गर्दा दाङको विकासको आधार तयार भएको थियो। सरकारबाट बाहिरिएपछि केही काम रोकिए, अब ती योजनालाई पुनः गति दिन आवश्यक छ।'
घोराही–तुलसीपुर चारलेन सडक निर्माण आफ्नै पहलमा सुरु भएको भन्दै पोखरेलले विजौरी–दहवन हुँदै शहीद मार्ग विस्तार, मानपुर–जलकुण्डी सडक स्तरोन्नतिलगायतका योजनाहरू मध्य दाङको विकासका लागि अनिवार्य रहेको उनले बताए। 'मध्य दाङको समग्र विकासका लागि सडक सञ्जाल मजबुत बनाउनु अपरिहार्य छ', उनले जोड दिए।
स्वास्थ्य क्षेत्रको उपलब्धि उल्लेख गर्दै उनले रिफर सेन्टरका रूपमा रहेका दाङका अस्पतालहरूलाई विकास गरेर विशेषज्ञ सेवा प्रदान गर्ने अस्पतालका रूपमा विकास गरिएको बताए। 'राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरु हुनु दाङका लागि ऐतिहासिक उपलब्धि हो', उनले भने, 'अब प्राविधिक शिक्षा र स्वास्थ्य सेवा दाङमै सुदृढ बनाउनुपर्छ।'
पोखरेलले नीति निर्माण र बजेट विनियोजनमा प्रभावकारी पहुँच पुर्याउन सक्ने प्रतिनिधि आवश्यक रहेको उल्लेख गरे। 'काठमाडौंबाट बजेट ल्याउन र नीतिगत निर्णयमा प्रभाव पार्नसक्ने नेतृत्व दाङले रोज्नुपर्छ,' उनले भने, 'समृद्ध दाङ बनाउने लक्ष्यसहित हामी अघि बढेका छौँ।'
चुनावी सभामा उनले पार्टीका कार्यकर्ता र समर्थकलाई एकताबद्ध भएर अभियान सञ्चालन गर्न आह्वान गर्दै विकास, स्थिरता र समृद्धिको सन्देश मतदातामाझ पुर्याउन आग्रह गरे। कार्यक्रममा स्थानीय नेता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
प्रकाशित: १० फाल्गुन २०८२ १८:३२ आइतबार





