४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

नवराज सुवेदीलाई 'फेलियर' भन्दै शाहीले भने: राजावादी आन्दोलन राजावादीले नै तुहाए

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राजावादी आन्दोलन राजावादीहरूले नै तुहाएको बताएका छन्। बुधबार (आज) नागरिक फ्रन्टलाइनमा नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन्।

'राजावादी आन्दोलन राजावादीले नै तुहाए,' शाहीले भनेका छन्, 'नवराज सुवेदीलाई जनताले अब पत्याउँछन् त ?'

अगाडि उनले भने, 'राजालाई एयरपोर्टमा स्वागत गर्ने कार्यक्रमको मुख्य डिजाइनर मै थिएँ। नेतृत्व नै मैले गरेको थिएँ, मैले बाहिर चाहिँ भनिनँ। एयरपोर्टमा जुन भीड जम्मा भयो, त्यसबाट नेपालका नेता मात्रै तर्सिएनन्, अन्तर्राष्ट्रिय जगत् तर्सियो। र, अहिलेसम्म कुनै पनि पूर्वराष्ट्र प्रमुख एउटा जिल्लाबाट आफ्नो घर आउँदै गर्दा स्वागत गरेर घर ल्याउनेको लहर नेपालको इतिहासमा सबैभन्दा बढी जनमानस होलान्। महोल बन्यो अनि ४०/४५ वर्षअगाडि जनाले धिक्कार गरिसकेका, सक्रिय राजनीतिबाट फेज आउट भइसकेका मान्छेहरूको नेतृत्वमा एउटा समिति बन्यो। समितिबारे मलाईसम्म जानकारी छैन। मेरो पार्टी अध्यक्षलाई समेत जानकारी छैन। उहाँले कहीँ चपाएर बोल्नुभएको होला। पार्टी अध्यक्ष भएपछि चपाउनु पनि पर्छ। मैले पत्रिकाबाट थाहा पाएँ। नवराज सुवेदी कमान्डर बने, मैले त को हो नवराज सुवेदी चिनेको पनि थिइनँ। मलाई त्यही दिन लाग्यो कि आन्दोलन तुहाउनका लागि समिति खडा गरे।'

उनले राप्रपा नेपालका अध्यक्ष कमल थापाका प्रति पनि कटाक्ष गरेका छन्। उनले कमल थापा शेरबहादुर देउवा, केपी शर्मा ओलीभन्दा फरक नभएको पनि बताए। 'कहिले एमाले, कहिले झाले, कहिले माले कमल थापाहरू आइपुगे। कमल थापाको अनुहार हेर्न चाहेका छैनन् नेपाली जनताले। शेरबहादुरजी, केपी ओली, कमल थापाहरूलाई हेर्ने नजर उही हो सबैको। म हेरेको हेर्‍यै भएँ। हामी युवाहरू हेरेको हेर्‍यै भयौँ। कमेडी बन्यो,' उनले भने।

शाहीले सुवेदी नेतृत्वको समिति राजाले बनाएको नभएको जिकिरसमेत गरे। 'दरबारसँग भेट भयो, म पनि थिएँ। मैले त्यो समिति आधिकारिक हो भनेर सोधेँ, उहाँले होइन भन्नुभयो। अर्को दिन नवराज सुवेदीलाई लिएर हाम्रो पार्टी अध्यक्ष फेरि जानुभयो। त्यसबेला सरकार! समितिको अध्यक्ष भ'को छु भनेर जानकारी गराउनुभयो रे,' उनले भने।

प्रकाशित: २५ असार २०८२ १९:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App